गृहपृष्ठ Featured लुम्बिनीमा पाँच हजारले एकैठाउँमा गरे ध्यान

लुम्बिनीमा पाँच हजारले एकैठाउँमा गरे ध्यान

लुम्बिनीमा पाँच हजारले एकैठाउँमा एक साता चक्र विज्ञान कार्यक्रमअन्तर्गत ध्यान गरेका छन्। जीवन विज्ञान नामक आध्यात्मिक संस्थाले आयोजना गरेको उक्त कार्यक्रम विश्वमै पहिलोपटक भएको आयोजकको दाबी छ। चैत १७ गतेदेखि सुरु भएको उक्त ध्यान शुक्रबार सम्पन्न हुँदै छ।

‘मेचीदेखि महाकाली अनि हिमालदेखि तराईका सबै पेसा, व्यवसाय अनि जातजाति र भाषाभाषीलाई एउटै थलोमा समेट्न मन थियो, जुन पूरा भएको छ’, जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ रमेश नेपालले भने, ‘साताव्यापी विराट चक्र विज्ञानमा हुने ध्यानले नेपालमात्र होइन, विश्वमै एउटा तरंग फैलिएको छ। पाँच हजार एकले ध्यान गर्ने भने पनि झन्डै ६ हजारको संख्या छ। सहभागी सबैले परिवार र आफन्तलाई जोड्ने उत्साह लिनु नै कार्यक्रमको अर्को सफलता हो।’ उनका अनुसार, चक्र विज्ञानमार्फत विशुद्ध मानवीय हित गरेको छ। मानव कल्याणका लागि यो ध्यानले काम गर्ने बताउँदै उनले सातवटा चक्र जगाएर हरकोहीले जीवनलाई चाहेजस्तो बनाउन सक्ने बताए।

चक्र विज्ञानमा सहभागी हुन लुम्बिनी पुगेका सुनसरी हरिनगर गाउँपालिका–१ का अध्यक्ष प्रवीणप्रसाद गुप्ता अब क्रमशः वडाका झन्डै १० हजार बासिन्दालाई चक्र विज्ञानमार्फत ऊर्जावान् बनाउने बताउँछन्। ‘त्यसपछि सबै वडाका अध्यक्षसँग जीवन बदल्ने यो कलाबारे बताउँछु, बुझाउँछु र भन्छु आआफ्नो वडामा यो कार्यक्रम चलाएर जागरुक र ऊर्जावान् बनाऔं’, उनले भने, ‘रामदेव बाबाको योग टेलिभिजनमा हेरेर अलिअलि गर्थें, जीवन विज्ञान छ, नेपालमै यति राम्रो कार्यक्रम छ भन्ने थाहा थिएन।’

उनले जीवन स्वस्थ्य भएर बाँच्ने कला सिकेको बताए। भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका लेखाअधिकृत हरिकृष्ण तिमिल्सिनाले चक्रको ज्ञान पाएपछि तिनलाई चलायमान गरे मानिस अनुशासित हुने बताए।

सम्बन्धित् समाचार