गृहपृष्ठ Featured पीएसजीको मैदानमा बार्सिलोनाको जित

पीएसजीको मैदानमा बार्सिलोनाको जित

प्रकाशित मिति:

काठमाडौं ।

स्पानिस क्लब बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनल पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई उसैको मैदानमा ३-२ ले पराजित गरेको छ ।

अवे मैदानमा प्राप्त यस जितले बार्सिलोनाको लागि घरेलु मैदानमा हुने दोस्रो लेगमा केही सहज बन्नेछ ।

पेरिसस्थित पार्क डे प्रिन्समा भएको खेलमा राफिन्हाको गोलमार्फत बार्सिलोनाले ३७औं मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफमा अग्रता कायम गरेको बार्सिलोनाले दोस्रो हाफको सुरुवातमै दुई गोल खायो । ४८औं मिनेटमा बार्सिलोनाकै पूर्व खेलाडी उसमान डेम्बेले तथा ५१औं मिनेटमा भिटिन्हाले गोल गरेपछि पीएसजीले खेलमा २-१ को अग्रता बनाएको थियो ।

तर बार्सिलोनाले पनि पुनरागमन गर्‍यो । ६२औं मिनेटमा बार्सिलोनाका राफिन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका आन्द्रे क्रिस्टेनसनले ७७औं मिनेटमा विजयी गोल गरे ।

यस जितमा बार्सिलोनाका युवा खेलाडीहरुले कीर्तिमान बनाए ।

३५ वर्षीय पोलिस स्ट्राइकर रोवर्ट लेवान्डोस्की र ३३ वर्षीय जर्मन मिडफिल्डर इल्के गुन्डोगान बाहेक अधिकांश युवा खेलाडी पहिलो रोजाइमा खेलेका थिए ।

दुई स्पानिस खेलाडी लामिन यामा (१६ वर्ष २७२ दिन) र पाउ कुबार्सी ( १७ वर्ष ७९ दिन) च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पहिलो रोजाइमा खेल्ने युवा खेलाडी बने ।

डिफेण्डर जुल्स कोन्डे र रोनाल्ड अराउजो दुवै २५ वर्षका भए । यस्तै २१ वर्षका पेड्री र २० वर्षी पर्मिन लोपेजले बनेचबाट आएर खेले ।

अब दोस्रो लेग १६ अप्रिलमा बार्सिलोनाको मैदानमा हुनेछ ।

अर्को क्वाटरफाइनल पहिलो लेगमा स्पेनकै एट्लेटिको मड्रिले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २-१ ले हरायो ।

घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोका लागि रोड्रिगो डे पउलले चौथो र लिनोले ३२औं मिनेटमा गोल गरे ।

डर्टमण्डका लागि सेबास्टिन हेलरले ८१औं मिनेटमा एक गोल फर्काए ।

सम्बन्धित् समाचार