गृहपृष्ठ Featured गृहमन्त्रीले नयाँ वर्षमा बाँडे लड्डु

गृहमन्त्रीले नयाँ वर्षमा बाँडे लड्डु

प्रकाशित मिति:

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सडकबाट नयाँ वर्षको सुरुवात गरेका छन्। शनिबार बिहान थापाथलीकाे सडकमा उनले प्रहरी कर्मचारी र सर्वसाधारणसँग नयाँ वर्षको खुशियाली साटासाट गर्ने क्रममा लड्डु बाँडेर शुभकामना दिए।

चालक र यात्रुहरुलाई सुरक्षित यात्राको कामना गर्दै उनले जिम्मेवारीमा रहेका प्रहरीलाई नागरिकप्रति सभ्य व्यवहार गरेर काम गर्न पनि निर्देशन दिए।

गृहमन्त्री लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन्। ‘सबै गुनासाहरू यथोचित ढंगले सम्बोधन हुन्छ, म जानकार छु, सबै समस्या समाधान हुनेछन्। सेवा अवधि लगायत सबै विषयहरु एकमुष्ट रुपमा सम्बोधन हुन्छ।’ उनले भने।

गृहमन्त्री लामिछानेले जनताका सबै किसिमका गुनासाहरू यथोचित ढंगबाट समाधान हुने प्रतिबद्धता जनाए। उनले कर्मचारीहरुमाथि दबाब वा राजनीतिक आग्रह, पूर्वाग्रह बिना नै काम गर्ने वातावरण बनाइने पनि उल्लेख गरे।

‘कसैमाथि पनि दबाब वा राजनीतिक आग्रह, पूर्वाग्रह नहोस्। कसैले नेता चिन्नु पर्दैन, जनता चिने हुन्छ, नेताको चाकडी नभई जनताको सेवा गरे मात्रै संगठन बलियो बन्छ।’ लामिछानेले भने।

उनले काठमाडौं सहरलाई चलायमान र क्रियाशील बनाउन नयाँ वर्षबाट २४ सै घण्टा दरबार मार्ग र ठमेल क्षेत्र सञ्चालन गरिएको बताए। काठमाडौं जिउँदो, जाग्दो सहर बनाउन आफूले काम गरिरहेको उनका भनाइ थियो।

‘सहरमा राति, बिहान, साँझ कतै जानुपर्दा सहरमा खुला ठाउँहरू छन्, सुरक्षित छन् भन्ने सन्देश हरेक देशले दिइरहेको छ, त्यो हुनुपर्छ, आजको बदलिँदो परिस्थितिमा सात, आठ बजे अँध्यारो हुने भन्ने हुँदैन, व्यापार व्यवसाय चलोस्, मानिसहरूको चहलपहल होस्।’ उनले भने।

गृहमन्त्री लामिछानेले प्रहरीको मनोबल र सुधारको काम अझ अघि बढाउनका लागि नयाँ वर्षको दिनमा खुसीयाली साटासाट गर्न आफू सडकमा आएको सुनाए।

नयाँ वर्षको पहिलो दिन आज मुलुकको राजधानी काठमाडौँलगायत विभिन्न स्थानमा उत्सवमय वातावरण देखिएको छ। शनिबार र सार्वजनिक बिदा समेत परेकाले आज सर्वसाधारण धार्मिक तथा पर्यटकीय स्थलमा घुमफिर गर्ने, रमाइलो गर्ने, मीठा मीठा परिकार खाने,इष्टमित्र भेटेर रमाइरहेका छन्।

सम्बन्धित् समाचार