लुम्बिनी ।
विश्वमा व्याप्त हुँदै गइरहेको प्राकृतिक असन्तुलन, बैमनस्यता र बेमेलको अन्त्यका लागि बौद्ध शिक्षाको जीवनोपयोगी बनाउने गरी प्रवर्द्धनमा प्राथमिकतामा दिनुपर्ने विज्ञहरूले बताएका छन्।
लुम्बिनी बौद्ध विश्वविद्यालयको बौद्ध अध्ययन संकायको आयोजनामा शनिबारदेखि लुम्बिनीमा सुरु भएको ‘विश्वव्यापी चुनौतीहरूको समाधान सन्दर्भमा बौद्ध शिक्षा’ विषयक अन्तर्राष्ट्रिय सेमिनारमा बोल्दै विज्ञहरूले बुद्धका शिक्षाको परिपालनाले मानवीय व्यवहारहरू परिवर्तन हुने बताएका हुन्। वातावरणीय असन्तुलन, व्यापारिक प्रतिस्पर्धा, बढ्दो तापक्रम, नयाँनयाँ संक्रमणकालीन ब्याधी तथा युद्ध अपराध जस्ता विश्वव्यापी समस्याको समाधान बौद्ध दर्शनमा रहेको भन्दै त्यसको खोजी अपरिहार्य रहेको विज्ञहरूले बताए।
बुद्धको शिक्षाले संयक आजीविका आत्मसाथ गर्न अभिप्रेतित गर्ने भन्दै बुद्धको शिक्षाले नै अहिलेको विश्वलाई शान्तिमय बनाउन सक्ने उनीहरूले बताए। बुद्ध जन्मस्थल लुम्बिनीबाट बुद्ध शिक्षाको विश्वव्यापी बिगुल फुक्नका लागि सबै तत्पर हुनुपर्ने विज्ञहरूको जोड थियो।
ईष्या, राग, द्वेय, मोहमुक्त मानव समाज निर्माण अपरिहार्य रहेको तर्क विज्ञहरूले गरे। नेपाल, भारत, बंगलादेश, श्रीलंका, म्यान्मार, फ्रान्स, पोर्चुगल, ताइवान, थाइल्याण्ड, मंगोलिया, जापानका विज्ञहरू सम्मिलित सेमिनारको उद्घाटन सत्रमा बोल्नै विज्ञहरूले बौद्ध शिक्षालाई जीवयनयापनमै उपयोगमा ल्याउनेगरी व्यवहारिक सिकाइमा लैजानुपर्ने बताए।








