डोटी ।
डोटीमा वन जङ्गलमा आगो लगाउने व्यक्तिविरुद्ध उजुरी दिने व्यक्तिलाई नगद पुरस्कार दिइने भएको छ । जिल्लाको अधिकांश वन क्षेत्रमा आगोले जलेपछि वनमा डढेलो लगाउने व्यक्तिको बारेमा सूचना दिने व्यक्तिलाई पुरस्कार दिने निर्णय भएको हो ।
डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालको अध्यक्षतामा बसेको सरोकारवालाहरूको बैठकले वन डढेलो नियन्त्रण गर्न उक्त निर्णय गरेको हो ।
‘डढेलो लगाउनेहरू बारे सुराकी दिनेलाई नगद पुरस्कार दिइनेछ’ प्रमुख जिल्ला अधिकारी अर्यालले भने ‘आगो नियन्त्रणमा सक्रिय भूमिका खेल्नेलाई पनि पुरस्कार दिइनेछ ।’ पुरस्कार कति दिने भन्ने विषयमा भने खुलाइएको छैन ।
वन जङ्गलमा आगो लगाउने व्यक्तिलाई कानुनी कारबाही गर्न नसक्दा वर्षेनी यो समस्या भइरहेको जिल्ला समन्वय समिति डोटीका उपप्रमुख स्मृति चुनारा विकले बताइन् ।
उनी भन्छिन् ‘स्थानीय बासिन्दाहरूले आगो लगाउने व्यक्तिबारे थाहा पाएर पनि सूचना लुकाउने गरेका छन् ।’
उनले आगो लगाउने व्यक्तिबारे सूचना दिने व्यक्तिको नाम गोप्य राखिने बताइन् ।








