रूपन्देही ।
लुम्बिनी विकास कोषले २५६८ औं बुद्धजयन्ती एवं लुम्बिनी दिवस मनाउन तयारी सुरु गरेको छ । जेठ १० गते परेको बुद्धजयन्ती एवम् लुम्बिनी दिवस समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा गर्ने गरी तयारी तीव्र पारिएको छ ।
कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले प्रधान्मन्त्री प्रचण्डलाई भेट गरी औपचारिक रुपमा निम्ता दिएका छन् । उपाध्यक्ष लामाले प्रधानमन्त्रीसहित गृहमन्त्री रवि लामिछानेलाई समेत भेट गरी बुद्धजयन्तीका लागि निमन्त्रणा गरेको कोषका कार्यकारि सदस्य श्याम रोक्काले जानकारी दिए ।
बुद्वजयन्ती एवम् लुम्बिनी दिवसलाई व्यवस्थित बनाउनका लागि कोषले संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्री हितबहादुर तामाङको अध्यक्षतामा ५६८ सदस्यीय मूल आयोजक समिति गठन गरिएको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए । उनले कोषले बुद्धजयन्तीलाई उत्सवका रुपमा मनाउनका लागि ९ वटा विभिन्न उपसमितिहरु गठन गरिएको बताए ।
प्रत्येक वर्ष बैशाख शुक्ल पूर्णिमा दिन बुद्धजयन्ती एवम् लुम्बिनी दिवस मनाउने गरिन्छ । बृहत्तर लुम्बिनी क्षेत्र अन्तर्गत तिलौराकोट, रामग्राम र देवहदमा पनि विभिन्न कार्यक्रम गरी बुद्धजयन्ती मनाइँदैछ ।








