गृहपृष्ठ Featured पश्चिम नवलपरासीमा हुण्डाइ गाडीको एसेम्ब्लिङ प्लान्ट सुरु

पश्चिम नवलपरासीमा हुण्डाइ गाडीको एसेम्ब्लिङ प्लान्ट सुरु

रुपन्देही ।

पश्चिम नवलपरासीको रामग्राम ६ मा हुण्डाई गाडीको एसेम्ब्लिङ प्लान्टबाट गाडी उत्पादन सुरु भएको छ । शुक्रवार प्रधानमन्त्री पुष्पकमल दाहालले एसेम्ब्लिङ प्लान्टमा पुगेर उद्घाटन गरेका हुन् ।

यो प्लान्टको १.५ युनिट पर आवर (युपीएच) क्षमता छ । अर्थात् प्लान्टले एक घण्टामा १.५ युनिट गाडी उत्पादन गर्न सक्छ । गाडीको मागअनुसार सिफ्ट बनाएर उत्पादन गर्ने लक्ष्मी कन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाले भने ।

यो प्लान्टबाट १०० भन्दा बढीले प्रत्यक्ष रूपमा रोजगारी पाइरहेका छन् भने २०० जनाभन्दा बढीले रोजगारी पाउने दाबी गरिएको छ । करिब एक वर्षदेखि एसेम्ब्लिङ निर्माणको काम सुरु भएको थियो । प्लान्टका करिब डेढ अर्ब रुपैयाँ खर्चिएको छ ।

गाडी आयात गरेर बेच्नेभन्दा यही उत्पादन गरेर बेच्दा मूल्य घट्ने महाप्रबन्धक थपलियाको दाबी छ । अहिले भेन्यु गाडीको मूल्य ४० लाख ९६ हजार रुपैयाँदेखि ५८ लाख ९६ हजार रुपैयाँसम्म पर्छ । भेन्यु पेट्रोल इन्जिन गाडी हो ।

यो गाडी २०७६ भदौ पहिलो साता लक्ष्मी ग्रुपले ल्याएर नेपाली बजारमा बिक्री गरिरहेको छ । उनले आधुनिक प्रविधिको प्रयोग गरेर प्लान्ट तयार पारेको दाबी गरे । कोरियन प्राविधिक टिमले यही बसेर एसेम्ब्लिङ प्लान्ट हेरिरहेको छ ।

उनले यो एसेम्ब्लिङ प्लान्ट टेक्नोलोजी ट्रान्सफरको उदाहरण भएको बताए । बजारको माग अनुसार नयाँ मोडलका गाडीहरू उत्पादन हुने कम्पनीले जनाएको छ ।

करिब १० बिघा जग्गामा फैलिएको प्लान्टबाट पहिलो चरणमा भेन्यु गाडी उत्पादन भएको छ । प्रधानमन्त्री प्रचण्डले पहिलो उत्पादित गर्दै हुन्डाइको भेन्यू गाडी चढेका हुन् ।

प्लान्टको उद्घाटन गर्दै प्रधानमन्त्रीले नेपालीले सस्तोमा गाडी चढ्न पाउने विश्वास व्यक्त गरे । निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने बताउँदै प्रधानमन्त्रीले लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

सम्बन्धित् समाचार