काठमाडौं ।
शीर्ष नेताहरूको बैठकमा सहकारीको बचत अपचलन प्रकरणमा संसदीय छानबिन समिति बनाउने सहमति जुटेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा शनिबार साँझ बसेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलगायत शीर्ष नेताहरूको बैठकमा यस्तो सहमति जुटेको हो । यद्यपि, सहमति उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि केन्द्रित भएर हो वा होइन भन्नेबारे स्पष्ट भइसकेको छैन ।
कांग्रेसले सहकारीको बचत हिनामिना प्रकरणमा गृहमन्त्री लामिछानेमाथि नै केन्द्रित भएर संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको थियो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मुख्य दलका शीर्ष नेताहरूको बैठकबाट संसदीय छानबिन समिति बनाएर जाने सहमति भएको बताए । उनले समिति बनाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सरकारका तर्फबाट सहजीकरण गर्ने जानकारी दिए ।








