वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले ८० प्रतिशत भन्दा बढी छाडा पशुचौपया व्यवस्थापन गर्न सफल भएको छ । छाडा चौपयाको व्यवस्थापन गर्न नसक्दाँ चौतर्फी आलोचना खेपेको यस नगरपालिकाले छोटो समयमै यसलाई व्यवस्थापनमा सफलता हासिल गरेको हो ।
छाडा पशुचौपया नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक विष्णु प्रसाद पौडेलले नगरभित्र रहेका ८० प्रतिशत भन्दा धेरै छाडा चौपयाको व्यवस्थापन गरिसकिएको बताए । उनले कोठी खोला र बैजलपुर सामुदायिक वन क्षेत्रसभित्र मात्रै ५ सय भन्दा बढी पशुचौपयालाई व्यवस्थापन गरिएको बताए । यस्तै चौवाह, कपिलधाम, भलवाड र रामदत्तीवन क्षेत्रमा गरि सयौंको संख्यामा पशुचौपया व्यवस्थापन गरेको उनले बताए । अहिले छाडा चौपयाको व्यवस्थापनसंगै नगरवासीले धेरै नै राहात महसुस गरेको उनले बताए ।
उनले मुख्यतः कृषकले लगाएका बालीहरु सखाप हुने स्थितिको अन्त्य भएको बताए । विगतको तुलनामा हाल सवारी दुर्घटना हुने दरमा समेत कमी आएको उनको भनाई छ । उनले बाटोबाटोमा हुल बनाएर दर्जनौं गाईगोरु छरिएर हिड्ने अवस्थाको अन्त्य भएको बताए । नगरपालिकाका प्रवक्ता समेत रहेका पौडेलले पछिल्ला दिनहरुमा जनस्तरबाट छाडा चौपयाको व्यवस्थापनका लागी पराल, भुस, चापट जस्ता पशुका लागी आवश्यक खाद्यान्न सहयोग अवरुप प्राप्त भएको बताए । उनले छाडा पशुचौपयाको समस्या सबैको साँझा समस्या भएकाले सबैको साँझा प्रसासबाट मात्र सम्झव भएको बताए ।
पौडेलले छाडा चौपयाको व्यवस्थापनमा अहोरात्र खटिएर सफलता हासिल गरेको भन्दै चौतर्फी प्रशंसा बटुलेका छन् । पौडेल दैनिक २/३ पटक सो क्षेत्रमा पुग्ने गरेका छन् ।
यस्तै छाडाचौपयाको व्यवस्थापनको अनुगमनका लागी नगरप्रमुख चक्रपाणी अर्याल र उपप्रमुख रिता कुमारी चौधरी साप्ताहिक रुपमा २/३ पटक व्यवस्थापन क्षेत्रमा पुग्ने गरेका छन् ।
नगरप्रमुख चक्रपाणी अर्यालले नगरवासीलाई अनुभूति हुने गरि छाडा पशुचौपया व्यवस्थापन गरिएको बताए । उनले यस क्षेत्रको मुख्य समस्याको रुपमा रहेको छाडापशुचौपयालाई नगरले अल्पकालीन व्यवस्थापन गरेको भन्दै यसलाई दिर्घकालीन तवरले समाधानतर्फ नगर उन्मुख रहेको बताए । उनले छाडापशुचौपयाको व्यवस्थापनलाई सहज बनाउन सबैको सहयोग आवश्यक रहेको बताए ।
उपप्रमुख रिता कुमारी चौधरीले बाणगंगाले स्थानीय स्तरमै उपलब्ध स्रोत साधानको सदुपयोग गरि छाडा पशुचौपया व्यवस्थापन गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न सफल भएको बताईन् । उनले तराईका हरेक जसो स्थानीय तहको मूल समस्याको रुपमा रहदै आएको बताईन् । उनले यो समस्याको अब बाणगंगाले दिर्घकालीन समाधान गरेर देखाउने दाबी गरिन् ।
प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले छाडा पशुचौपया व्यवस्थापन आफैंमा चुनौतिको विषय भएको भन्दै सबैको सहयोगले मात्र यसको व्यवस्थापकिय पक्ष सुदृढ हुने बताए ।








