गृहपृष्ठ Featured २५६८औँ बुद्ध जयन्ती : कपिलवस्तु, रुपन्देही र नवलपरासीमा ३ दिन उत्सवमय बनाउन कार्यक्रम

२५६८औँ बुद्ध जयन्ती : कपिलवस्तु, रुपन्देही र नवलपरासीमा ३ दिन उत्सवमय बनाउन कार्यक्रम

रुपन्देही।

बुद्ध जयन्ती बौद्ध सम्प्रदायको मात्रै नभई सबैको साझा उत्सव बनाउन आग्रह गरिएको छ । लुम्बिनी विकास कोषले २५६८ औँ बुद्धजयन्ती एवम् लुम्बिनी दिवस रुपन्देही, कपिलवस्तु र नवलपरासीमा उत्सवका रूपमा मनाइने भएको छ ।

तीनै जिल्लामा तीन दिने विविध कार्यक्रमसहित यो कार्यक्रम मनाउने र स्थानीयलाई पनि यो कार्यक्रममा सहभागी बनाउने लुम्बिनी विकास कोषले जनाएको छ ।

कोषले मङ्गलवार लुम्बिनीमा पत्रकार सम्मेलन गर्दै बुधवारदेखि तीन दिन लगातार विविध कार्यक्रम गरी मनाउने जनाएको हो । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बुद्ध जयन्ती बौद्ध सम्प्रदायको मात्रै नभई सबैको साझा उत्सव भएको बताए ।

उनले आफू लुम्बिनी बनाउने संकल्पका साथ लुम्बिनीमा आएको बताउँदै पवित्र लुम्बिनीको विकास र प्रवर्द्धनमा सम्पूर्ण सञ्चारकर्मीहरूलाई सहयोग गर्न आग्रह गरे ।

उपाध्यक्ष लामाले यो वर्ष बजेटको सुनिश्चित नहुँदा निकै कठिनाइ भोगेको बताउँदै बुद्ध जयन्तीलाई अन्तर्राष्ट्रिय रूपमा सन्देश दिने गरी मनाउनुपर्ने बताए ।

लामाले गुरुयोजना बनेको ४६ वर्षसम्म पनि सम्पन्न हुन नसक्नु संसारभरका बौद्धमार्गीहरुका लागि लज्जाको विषय भएको बताउँदै राज्यले बजेट सुनिश्चितता गर्न गरेको विलम्ब र विनियोजित बजेटको कार्यान्वयनमा पनि भएको विलम्बका कारण गुरुयोजना सम्पन्न हुन नसकेको जनाए ।

बजेट विनियोजन भएर ठेक्का लागेको काममा पनि ढिलासुस्तीका कारण अस्तव्यस्तजस्तो देखिएको बताउँदै उनले आफूले ठेकेदार कम्पनी र सम्बन्धित सरोकारवालालाई विशेष आग्रह गरेर काममा तीव्रता दिन सकेको बताए ।

मूल समारोहमा प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी विकास कोषका अध्यक्ष एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा, प्रतिनिधिसभा, प्रदेशसभाका माननीय सदस्यहरूसहित उच्चस्तरीय पदाधिकारी, कूटनीतिक नियोग, विदेशी पाहुनाहरूको समेत सहभागिता रहने छ ।

प्रचार प्रसार व्यवस्थापन उपसमितिका संयोजक एवम् कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले लुम्बिनीसहित रामग्राम, कपिलवस्तु र देवदहमा समेत विविध कार्यक्रम गरिने बताए ।

बुधवार ९ गते साँझ भारतीय दूतावाससँगको साझेदारीमा सांस्कृतिक कार्यक्रम, सोही साँझदेखि मायादेवी परिसरमा अहोरात्र महापरित्राण पाठ हुनेछ । मूल समारोहका दिन जेठ १० गते बिहान ६ बजेदेखि अन्तर्राष्ट्रिय भिक्षुभिक्षुणीहरुको सहभागितामा प्रार्थनासभा, बिहान साढे ७ बजे ५ नम्बर गेटबाट शोभा यात्रा हुने छ ।

लुम्बिनीमा ज्येष्ठ १० गते बिहान नेपाल, भारत र श्रीलंकासम्म पुग्ने गरी त्रिदेशीय मोटरसाइकल यात्रासमेत शुभारम्भ हुने कार्यक्रम रहेको कोषाध्यक्ष भट्टराईले बताए । बृहत्तर लुम्बिनी क्षेत्र अन्तर्गत अस्तीधातु रहेको रामग्राममा पण्डितपुरदेखि रामग्रामसम्म अस्तु यात्रा, प्राचीन तिलौराकोट दरबारमा र देवदहमा पनि बुद्ध जयन्तीमा कोष र स्थानीय तहहरूले सहकार्य गरेको जनाइएको छ ।

कोषले भगवान् बुद्धको महत्त्व दर्शाउनका लागि देवदह नगरपालिकामा, नवलपरासीको रामग्राम नगरपालिका, कपिलवस्तुको कपिलवस्तु नगरपालिकासहित बृहत्तर लुम्बिनी क्षेत्रका जिल्लावासीहरूलाई बुद्धजयन्तीका अवसरमा दीप प्रज्वलन गर्न कोषले अपिल गरेको छ ।

बजेटको सुनिश्चितता नहुँदा बुद्ध जयन्तीको तयारीमा ढिलाइ भए पनि अब तीन दिन भव्यताका साथ मनाउने गरी कार्यक्रम तय गरिएको कोषले जनाएको छ ।

बिहीबार ज्येष्ठ १० गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा ‘२५६८ औँ बुद्ध जयन्ती एवम् लुम्बिनी दिवस’ विशेष समारोह गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

सम्बन्धित् समाचार