आईपीएल २०२४ मा आज एलिमिनेटर खेल राजस्थान रोयल्स र रोयल्स च्यालेन्जर्स बैंगलुरुबिच हुँदैछ । खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा साँझ ७:४५ बजे सुरु हुनेछ ।
यस खेलको विजेता टोली क्वालिफायर-२ मा पुग्ने छ । हार्ने टोली उपाधि होडबाट बाहिरिने छ । यसअघि सन् २०१५ सिजनको एलिमिनेटर खेलमा राजस्थान र बैंगलुरु आमनेसामने भएका थिए, जसमा बैंगलुरु ७१ रनले विजयी भयो ।
आईपीएलको पहिलो सिजनको उपाधि राजस्थानले जितेको थियो । त्यसपछि टोली दोस्रो उपाधिको पर्खाइमा छ ।
टोली सन् २०२२ मा पनि एक पटक रनरअप भएको थियो । टोली छैटौँ पटक प्लेअफ चरणमा पुगेको हो । राजस्थानले चौथो पटक एलिमिनेटर खेल खेल्नेछ। यसअघि एलिमिनेटरमा ३ खेलमध्ये १ मा जित र २ मा हारको सामना गर्नुपरेको थियो ।
यसबाहेक टोलीले एक सेमिफाइनल खेलेको थियो जसमा १ सय ५ रनले विजयी भएको थियो । राजस्थान अन्तिम पटक २०२२ मा प्लेअफका लागि छनोट भएको थियो।
यता बैंगलुरुले अहिलेसम्म तीन पटक आईपीएलको फाइनलमा प्रवेश गरेको छ, तर एकपटक पनि उपाधि जित्न सकेको छैन। बैंगलुरु ९ औँ पटक प्लेअफमा पुगेको हो ।
टोलीले पाँचौँ पटक एलिमिनेटर खेल खेल्नेछ। यसअघि ४ खेलमध्ये २ खेलमा जित र २ खेलमा हारे बेहोरेको थियो । बैंगलुरु पहिलो पटक २००९ मा नकआउट चरणमा पुगेको थियो र अन्तिम पटक २०२२ मा प्लेअफका लागि छनोट भएको थियो।