काठमाडौं ।
जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर ६ भाडगाउँमा अतिक्रमित वन क्षेत्र हटाउने क्रममा डिभिजन वन कार्यालयले स्याउका करिब एक हजार बोट फँडानी गरेको छ । स्यानीपाताल काफलबारी सामुदायिक वन अतिक्रमण क्षेत्र हटाउने क्रममा फल दिइरहेका स्याउका बोट काटिएको हो ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले स्थानीयले वन क्षेत्र अतिक्रमण गरेर स्याउ खेती गरेकाले त्यसलाई हटाइएको बताए । ‘वन क्षेत्रमा स्थानीयले कानुन विपरीत स्याउ रोप्ने, अरु बिरुवा पनि लगाउने, खेतीपाती गर्ने, टहरा बनाउने गरेका थिए । त्यसलाई हटाउन वन कार्यालयले सहयोग मागेपछि हप्ता-दश दिन अगाडि अतिक्रमण हटाउने कारबाही गरिएको हो,’ उनले भने ।








