कपिलवस्तु ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा वर्षासँगै आएको हावाहुरीले ४७ घरमा क्षति गरेको छ।
सोमवार राति आएको हावाहुरीले विजयनगर गाउँपालिकाका २, ३, ४ र ६ नम्बर वडाका ४७ घरमा क्षति गरेको गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले बताए।
हुरीले घरका छाना, जस्तापाता उडाएको छ भने एउटा कुखुरा फार्म र एउटा विद्यालयमा पनि क्षति गरेको छ। विजयनगर गाउँपालिका-३ दिपेन्द्रनगरको बलराम सुनारको घर पूर्णरुपमा क्षति भएको छ।
हावाहुरीले विद्युतका ९ वटा पोल ढालेको छ भने वडा नं ३ मा विद्युत् अवरुद्ध भएको छ।
वर्षासँगै आएको हावाहुरीले विजयनगरका ४ वटा वडामा करिब ४२ लाख रुपैयाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी दिए।
आगलागी र लामो समयसम्म परेको खडेरीका कारण समस्यामा परेका स्थानीयलाई वर्षासँगै आएको हावाहुरीले थप समस्यामा पारेको छ।
सोमवार विहान हावाहुरीले क्षति गरेको घरमा पुगेर विजयनगर गाउँपालिकाका अध्यक्ष थापाले तत्काल बस्नको लागि आवश्यक व्यवस्था मिलाइने बताए।
क्षतिको विवरण तयार भएपछि पालिकाले सहयोग गर्ने आश्वासन थापाले दिएका छन्।








