वैखरी अनलाईन, बाणगंगा ।
अत्यधिक गर्मीले विद्यालयमा पठनपाठनका क्रियाकलाप संचालन गर्न कठिनाई भएको भन्दै कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले नगर भित्रका सबै विद्यालयमा दुई दिन विदा दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चुरामणी पन्थीका अनुसार जेठ १७ र १८ गते विद्यालय बन्द हुनेछ ।
केही दिनयता गर्मी बढेको र गर्मीका बेला विद्यार्थीहरु समस्यामा पर्ने हुनाले बिदा दिइएको उनले बताए ।
बढ्दो गर्मीले बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पुगेकाले विद्यालय बन्द गर्ने निर्णय भएको नगर प्रमुख केशव श्रेष्ठले वैखरीलाई बताए ।
उनले विद्यालयमा गर्मीले बालबालिका निकै प्रभावित भएको बताए ।
पालिकाले सूचना जारी गर्दै अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या भएको र बर्षे बिदाबाट मिलान हुने गरी बिदा दिइएको उल्लेख छ ।
वर्षा नभएका कारण केही दिनयता मधेश र तराई क्षेत्रमा गर्मी बढेको छ ।