गृहपृष्ठ Featured गौतम बुद्ध विमानस्थलमा उडान नथपिएपछि व्यवसायी निराश

गौतम बुद्ध विमानस्थलमा उडान नथपिएपछि व्यवसायी निराश

भैरहवा  ।

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्ष पूरा भइसक्दा पनि उडान संख्या भने वृद्धि नहुँदा स्थानीय  तथा व्यवसायी निराश छन् । सञ्चालनको पहिलो वर्ष जजिरा एयर लायन्सले उडान भरेकाले यहाँबाट विदेशिनेको संख्या धेरै थियो । तर जजिराले हाल उक्त उडान रोकेको छ ।

मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनी र आसपास क्षेत्र लक्षित गरेर सरकारले यहाँ ३५ अर्बभन्दा धेरै लगानीमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल सञ्चालनमा ल्याएको हो । विमानस्थल निर्माणले पर्यटक आवागमनमा वृद्धि हुने आसमा निजी क्षेत्रले होटल व्यवसायमा लगानी गरेका थिए । २०७९ जेठ २ बाट विमानस्थल सञ्चालनमा आएको हो । त्यसपछि भैरहवाबाट नियमित उडानका लागि सरकारले चासो दिएको छैन । उडान संख्या वृद्धि नभएपछि पर्यटनबाट लाभ लिने आसमा लगानी गरेका व्यवसायी यतिबेला संकटमा छन् ।

गौतमबुद्ध विमानस्थल कार्यालयका अनुसार सञ्चालनमा आएको पहिलो वर्ष सन् २०२२ मा ३१ हजार ३ सय ५५ यात्रु यहाँबाट बाहिरिएकामा २०२३ मा घटेर ४ हजार ७ सय ५१ जनाले उडान भरेका थिए । २०२४ मेसम्म करिब १ हजार जना मात्रै यहाँबाट विभिन्न मुलुक गएको देखिएको छ । जजिरा एयर लायन्सले उडान गरेको वर्ष यहाँबाट धेरै यात्रु बाहिरिएका हुन् ।

जजिराले सातामा तीन दिन गरिरहेको उडान रोकेपछि नेपाल एयरलायन्सले मलेसियाको क्वालालम्पुरबाट भैरहवाका लागि सातामा एक दिन कनेक्टिङ उडान मात्र गरिरहेको छ । जसले गर्दा यहाँ यात्रुको संख्या वृद्धि हुन नसेको हो । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जजिराले उडान भरेको अवधिमा यहाँबाट उडान भर्नेको संख्या उल्लेखनीय देखिएको बताए ।

सम्बन्धित् समाचार