सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले पालिकालाई विकासको मूल प्रवाहमा जोड्ने काम तीब्र गतिमा भईरहेको बताएका छन् । दीर्घकालीन योजनासहित पुर्वाधार निर्माणलाई तीब्र बनाउँदै पालिकालाई विकासको मूल प्रवाहमा जोड्ने काम गरिरहेको अध्यक्ष चौधरीको भनाई छ । उनले गाउँपालिका स्तरिय अध्यक्षसंग गाउँपालिकावासी कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
दीर्घकालीन, मध्यमकालीन र वार्षिक योजनामध्ये पालिकाको प्राथमिकता दीर्घकालीन योजना रहेको उनले बताए । उनले आगामी १०÷१५ वर्षको अवधिमा योजनाको कार्यान्वयनपछि विकासको अवस्था कस्तो हुने, जनताको आयस्तर, जीवनस्तर र उनीहरूले प्राप्त गर्ने सेवासुविधाको अवस्था के हुने, तिनीहरूको आकलन गरि योजना बनाउनेतर्फ आफ्नो ध्यान रहेको सुनाए ।
उनले आफु आफ्नो लक्ष्यमा स्पष्ट रहेको बताए । आवश्यक स्रोतसाधनको व्यवस्थासहित योजना तर्जुमा गर्दै शुद्धोधनलाई समृद्ध बनाउने उनको प्रण छ । उनले आफु निरन्तर शुद्धोधनवासीको सेवामा समर्पित हुने बताए ।
आफु शासक नभएर जनताको सेवक भएको जिकिर गरे । उनले जनतालाई पु¥याउनुपर्ने शिक्षा, स्वास्थ्य, खानेपानी, सुरक्षा, भौतिक पूर्वाधार, कृषि, रोजगारी, गरीबी निवारण र सन्तुलित समावेशी विकासजस्ता विषयहरूलाई आफुले प्राथमितामा राखेको बताए । सबै निकायको संयुक्त प्रयास र सहयोगबाट मात्र पालिकावासीले विकासको प्रत्याभूति गर्न सक्ने उनको भनाई छ ।
उनले सदैव सबैबाट प्राप्त सल्लाह सुझावलाई ग्रहण गरेर अघि बढ्ने प्रतिवद्धता जनाए ।
विकासका काममा पनि अवरोध खडा गर्ने प्रवृति रहेको भन्दै उनले त्यस्ता व्यक्ति समाजका लागी हानीकारक भएको बताए । उनले योजना तर्जुमा गर्दा स्थानीय जनताको विचार र आवश्यकता बुझेको बताए । स्थानीयको आवश्यकतालाई आत्मासाथ गर्दै पालिका अघि बढेको उनले दाबी गरे । उनले जनताको अपनत्व वृद्धि गर्न र विकासलाई दिगो बनाउन जनसहभागिता मुलक योजना तर्जुमा गरिरहेको बताउँदै भने, ‘वास्तविक योजनाबाट मात्र पालिकाको दिगो विकास गर्न मद्दत पुग्छ ।’
अध्यक्ष चौधरीले शिक्षाको गुणस्तरियता वृद्धि गर्न पालिका लागी परेको बताए । उनले शिक्षा क्षेत्रको समस्या पहिचान गरेर सुधारका लागी पहलको काम निरन्तर गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।