गृहपृष्ठ खबर अहिले काम भन्दा हल्ला बढी हुन्छ : मन्त्री अधिकारी

अहिले काम भन्दा हल्ला बढी हुन्छ : मन्त्री अधिकारी

सागर वि.क., वैखरी अनलाईन ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले वर्तमान सरकार लामो समय निरन्तर रहने दाबी गरेका छन् । पछिल्ला दिनहरुमा विभिन्न संचार माध्यमहरुमा वर्तमान सरकार ढल्न सक्ने अड्कलबाजीका समाचारहरु आईरहेको भन्दै उनले ति समाचारको खण्डन गरे ।

सोमबार बाणगंगा नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् । उनले प्रजातन्त्र आएपछि काम भन्दा हल्ला बढी हुने गरेको बताए ।

उनले ईतिहासमै पहिलो पटक यस क्षेत्रमा धेरै बजेट परेको दाबी गरे । उनले बाणगंगासहित कपिलवस्तुका जनप्रतिनिधिमा लबिङ्ग गर्ने प्रक्रिया कमजोर रहेको भन्दै यसलाई सुधार गर्दै निरन्तर ठूला योजनाका लागी महिनौसम्म लबिङ्ग गर्न आवश्यक रहेको बताए । त्यसपछि मात्र लबिङ्ग प्रक्रियाले सार्थकता प्राप्त गर्ने उनको भनाई छ । उनले बाणगंगामा छिट्टै मालपोत र नापीको कार्यालय आउने दाबी गरे । त्यसका लागी आवश्यक प्रक्रिया अघि बढेको उनले बताए । सम्भवतः यही साउनदेखि कार्यालय आउने उनले बताए ।

उनले बाणगंगा नगरपालिकाको वडा नं.१० विकास पूर्वाधारको हिसाबले पछाडि परेकाले उक्त क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन भएको बताए । उनले जनप्रतिनिधिहरुमा हत्तारिएर बोल्ने र पछि पछुताउने प्रवृति रहेको भन्दै त्यसलाई सुधार गर्न आग्रह गरे ।

कार्यक्रम राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरे, संविधान सभा सदस्य विश्राम प्रसाद थारु, लुम्बिनी प्रदेश सांसद गिरधारीलाल न्यौपाने लगायतले सम्बोधन गर्दै बजेट कार्यान्वयन प्रक्रियालाई सबै मिलेर सफल बनाउनुपर्नेमा जोड दिएका थिए ।

सम्बन्धित् समाचार