रुपन्देही ।
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले सात जनालाई प्रदेश कमिटीमा मनोनयन गरेको छ । बिहीबार बसेको एमाले प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकले उनीहरुलाई मनोनीत गरेको हो । मनोनीत पर्ने अधिकांश जिल्ला कमिटीको नेतृत्वमा नसमेटिएका छन् ।
मनोनीत हुनेहरुमा तेजेन्द्र केसी (रुपन्देही), डम्बर शर्मा (कपिलवस्तु), टोपवहादुर ओली (पूर्वी रुकुम), किस्मत कक्षपति (बाँके), हुकुमवहादुर बस्नेत (दाङ), लालवहादुर श्रेष्ठ (बर्दिया) र जसमा उमा विक (कपिलवस्तु) रहेका छन् । उनीहरुमध्ये उमा बिकबाहेक अहिले जिल्ला अध्यक्ष बनिसकेका हुन् । उनी माओवादी छाडेर एमाले प्रवेश गरेकी नेतृ हुन् ।
बैठकलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सचिव तथा लुम्विनी इन्चार्ज पद्या अर्यालले पार्टीलाई एजेण्डाले नेतृत्व गर्ने भएकोले अहिलेको अवस्थामा मुख्यतः राष्ट्रिय स्वाभिमान र स्वाधिनताको विषयसहित चारवटा एजेण्डालाई आत्मसात गरेर पार्टी कामलाई अघि वढाउन आवश्यक रहेको बताइन् ।
उनले जनताका तात्कालीन र दीर्घकालीन एजेण्डाको रुपमा शिक्षा, स्वास्थ्य, आवास र रोजगारीलाई ग्यारेन्टी गरेर जानसक्दा मात्र सवै वर्ग र समुदायका एजेण्डालाई आत्मसात गर्न सकिने भएकोले तदनुसारका विषयलाई अभियानका रुपमा लैजान आवश्यक रहेको बताइन् ।








