गृहपृष्ठ Featured युरो सेमिफाइनलमा स्पेन र फ्रान्स भिड्दै

युरो सेमिफाइनलमा स्पेन र फ्रान्स भिड्दै

काठमाडौं ।

युरो २०२४ को पहिलो सेमिफाइनलमा आज पूर्वविजेताद्वय स्पेन र फ्रान्सबीच हेभिवेट भिडन्त हुँदैछ । खेल नेपाली समय अनुसार राति १२:४५ बजे म्युनिखस्थित म्युनिख फुटबल एरेनामा हुनेछ ।

स्पेनले क्वाटरफाइनलमा आयोजक जर्मनीलाई हराएर आएकोले उच्च मनोबलमा सेमिफाइनल खेल्दैछ । मिकेल मेरिनोले अतिरिक्त समयमाको पनि अन्तिममा निर्णायक गोल गरेपछि स्पेनले जर्मनीलाई २-१ ले पराजित गरेको थियो ।

उता फ्रान्सले क्वाटरफाइनलमा पोर्चुगललाई पेनाल्टी सुटआउटमा ५-३ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो ।

दुई पूर्वविजेताबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ ।

दुई टोलीको तुलना गर्दा स्पेनले जारी युरोमा अहिलेसम्म ११ गोल गरिसकेको छ भने जम्मा दुई गोल मात्र बेहोरेको छ ।

उता फ्रान्स गोल गर्न नै संघर्षरत छ । फ्रान्सले अहिलेसम्म गरेको दुई गोलमा एउटा पेनाल्टीबाट सम्भव भएको थियो भने अर्को आत्मघाती गोल उपहार पाएको थियो । स्टार कप्तान केलिएन एमबाप्पे सुरुमै नाकको चोटबाट गुज्रिनु र अन्य खेलाडीहरुले पनि अपेक्षा अनुसार प्रदर्शन गर्न नसक्दा फ्रान्स गोल गर्न फिक्का देखिएको छ ।

उता स्पेनका मिडफिल्डर चोटका कारण युरोबाटै बाहिरिएपछि फ्रान्सविरुद्धको खेल गुमाउनेछन् ।

स्पेन १२ वर्षपछि युरो फाइनलमा पुग्ने लक्ष्यमा छ भने फ्रान्स पछिल्लो ८ वर्षमा चौथो पटक मुख्य प्रतियोगिताको फाइनल पुग्ने लक्ष्यमा छ । फ्रान्सले सन् २०१८ मा फिफा विश्वकपको उपाधि जितेको थियो भने २०१६ मा युरो फाइनल र २०२२ मा विश्वकप फाइनल खेलेको थियो ।

स्पेन र फ्रान्स मुख्य प्रतियोगितामा एकआपसमा प्रतिस्पर्धा गर्न लागेको यो छैटौंपटक हो । यसअघिका पाँचमध्ये तीन खेल फ्रान्सले जितेको छ । सन् १९८४ को युरो फाइनल, २००० को युरो क्वाटरफाइनल र २००६ को विश्वकपको प्रिक्वाटरफाइनलमा फ्रान्सले स्पेनलाई पराजित गरेको थियो ।

यस्तै स्पेनले एक खेल जितेको छ । स्पेनले सन् २०१२ को युरो क्वाटरफाइनलमा स्पेनले फ्रान्सलाई पराजित गरेको थियो । १९९६ को युरोको समूह चरणमा भने यी दुई टोलीले बराबरी खेलेका थिए ।

स्पेन र फ्रान्स दुवै छैटौं पटक युरो सेमिफाइनल खेल्दैछन् ।

संयोग के छ भने भने यी दुई टोलीबीच नकआउट खेल जसले जित्छ त्यही टिमले नै अन्तिममा गएर उपाधि जितेको इतिहास छ ।

समग्रमा यी दुई टोलीबीच अहिलेसम्म ३६ खेल भएको छ । जसमा स्पेनले १६ र फ्रान्सले १३ खेल जितेका छन् भने ७ खेल बराबरीमा सकिएको छ । यसमा स्पेनले ६४ गोल गर्दा फ्रान्सले ३९ गोल गरेको छ ।

सम्बन्धित् समाचार