सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले बाणगंगावासीको हितका लागी निरन्तर खटिएको बताएका छन् ।
बुधबार नगरपालिकाको सभाहलमा भएको सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘नगरवासीको हितमा नगरको विकास, समृद्धि र सुशासनका लागी हामी निरन्तर जनप्रतिनिधि र कर्मचारीहरु एक भएर खटिएका छौं ।’
तर समाजमा केही व्यक्ति तथ्यहित र अप्रमाणित कुराहरुलाई लिएर भ्रम छर्ने काममा लाग्ने गरेको उनको भनाई छ । त्यस्ता विषयहरुप्रति नगर नअल्मलिने उनले स्पष्ट पारे ।
उनले नगरवासीबाट प्राप्त रचनात्मक सल्लाह सुझावलाई आफुहरुले सदैव सकारात्मक रुपमा लिएर आत्मसाथ गरेर प्रतिवद्धता जनाए । आफुहरुबाट त्रृटि तथा कमीकमजोरी भए आफुहरु आलोचना सुन्न पनि तयार रहेको उनले जिकिर गरे ।
नगरप्रमुख अर्यालले सहभागीहरुबाट उठेका प्रश्नको जवाफ दिने यस्तो बताएका हुन् ।

नगर उपप्रमुख रिताकुमारी चौधरीले चालु आर्थिक बर्षको अन्त्यमा आईपुग्दाँ नगरले सन्तोषजनक उपलब्धि हासिल गरेको बताईन् । आगामी आर्थिक बर्षमा समेत सम्पुर्ण जनप्रतिनिधि, कर्मचारी र नगरवासी एक भएर तर्जुमा गरिएका निति तथा कार्यक्रमलाई पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने बताईन् ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले नगरको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सो क्रममा उनले चालु आर्थिक वर्ष २०८०/८१ मा विनियोजित बजेटको ८२.७४ प्रतिशत अर्थात् १ अर्ब ७ करोड ३२ हजार ११२ नगरपालिकाले खर्च गरेको जानकारी दिए । उनका अनुसार नगरपालिकाले चालुतर्फ ८५.५३ प्रतिशत अर्थात् ६२ करोड ५२ लाख ४२ हजार ६५५ रुपैयाँ र पुँजीगत तर्फ ७८.९८ प्रतिशत अर्थात् ४३ करोड ४७ लाख ८९ हजार ४५७ रुपैयाँ खर्च गरेको छ ।

चालु आवमा बाणगंगा नगरपालिकाले १ अर्ब २९ करोड ३१ लाख ४० हजार ४३३ रुपैयाँको बजेट ल्याएको थियो ।

यता लेखा अधिकृत केशवराज गैरेले बुधबारसम्म ५ करोड ५० लाख ९७ हजार नगरपालिकाले आन्तरिक राजस्व संकलन गरेको जानकारी दिए । उनका अनुुसार हालसम्म नगरले ६ करोडको लक्ष्य राखेकोमा ९० प्रतिशत भन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ । आर्थिक कारोबार २४ गतेसम्म भए पनि आन्तरिक राजस्व ३० गतेसम्मै संकलन हुने उनले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका उपाध्यक्ष हरि अधिकारीले नागरिक र बहिर्गमन प्रतिबेदन प्रस्तुत गरेका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा ११ वटै वडाका वडाअध्यक्ष, कार्यापालिका सदस्य, वडा सदस्य, शाखा प्रमुख, कर्मचारी, पत्रकार तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।








