काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आज संसदमा विश्वासको मत लिने भएका छन्। नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धनसहित राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएपछि अल्पमतमा परेका प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन्।
प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा २ बमोजिम विश्वासको मत लिने जानकारी गराएका छन्। प्रधानमन्त्रीलाई नेकपा एमाले र कांग्रेसले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरे पनि उनले संसद फेस गर्ने बताउँदै आएका छन्।
प्रधानमन्त्री दाहाललाई नेकपा एकीकृत समाजवादीले विश्वासको मत दिने निर्णय गरेको छ। त्यस्तै जनमत पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको छ।
नेपाली कांग्रेसले पनि आजको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित भइ आफ्ना सांसदहरूलाई प्रधानमन्त्रीको विपक्षमा मतदान गर्न निर्देशन जारी गरेको छ।








