आमासँग स्कुटरमा विद्यालय जाँदै गरेका बालकको ट्रकको ठक्करबाट मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–१४ बल्खुचोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि सवार ११ वर्षीय आदित्य गुप्ताको मृत्यु भएको हो।
रौतहटको राजपुर नगरपालिका–१ स्थायी घर भएका बालक आमा सरिताकुमारी गुप्ताले चलाएको स्कुटरको पछाडि बसेर आइतबार बिहान धोबीघाटस्थित आइडियल मोडल स्कुल जाँदै थिए।
बल्खुबाट सानेपातर्फ जाँदै गरेको ना ६ ख २२०३ नम्बरको ट्रकले उनीहरू सवार स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका बालक गुप्ताको उपचारको क्रममा वयोधा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। उनी ५ कक्षामा अध्ययनरत थिए।
दुर्घटनामा सरिताकुमारी पनि सामान्य घाइते भएकी छिन्। खुट्टामा चोट लागेकोमा उनी अस्पतालबाट आइतबार नै डिस्चार्ज भएको प्रहरीले जनाएको छ। ट्रकचालक यमबहादुर थापालाई पक्राउ गरी कारबाही अघि बढाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए।