गृहपृष्ठ Featured एयर एसियाले नियमित उडानको सम्झौता गरेपछि भैरहवामा उत्साह !

एयर एसियाले नियमित उडानको सम्झौता गरेपछि भैरहवामा उत्साह !

रुपन्देही ।

संचालनमा आएको लामो समय अन्तर्राष्ट्रिय उडानबिहीन भएको रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थाई एयर एसियाको बैंकक–भैरहवा उडान सम्झौताले लुम्बिनी क्षेत्रको पर्यटनमा उत्साह बढाएको छ ।

थाई एयर एसियाले बैंकक–भैरहवा सातामा चार दिन उडान गर्ने भएपछि यहाँका व्यवसायी र स्थानीयमा उत्साह छाएको हो । बिहीबार नागरिक उड्डयन प्राधिकरणले बैंकक मुख्यालय भएको यो एयरलाइन्सलाई भैरहवाको उडानको अनुमति दिएपछि लामो समय सुस्ताएको यहाँको पर्यटन क्षेत्रमा उत्साह आउने अपेक्षा व्यवसायीहरुले गरेका छन् ।

२०७९ जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थल उद्घाटन गरेका थिए । त्यही बेलादेखि कुवेतको जजिरा एयरवेजले पहिलो वायुसेवाका रूपमा नियमित अन्तर्राष्ट्रिय उडान गरेपनि उडान नियमित हुन सकेन ।

लुम्बिनी भ्रमण गर्ने तेस्रो मुलुकका पर्यटकमध्ये सबैभन्दा धेरै पर्यटक थाइल्याण्डबाट नै आउने गरेकाले पनि यो विमानस्थलमा थाई एयरले आफ्नो विजनेश बढाउन सक्नेदेखिन्छ । लुम्बिनी विकास कोषको तथ्याङ्कअनुसार २०२४ को जनवरीदेखि जुलाईसम्म मात्रै लुम्बिनी आएका ५३ हजार ८ सय ९१ पर्यटकमध्य सबैभन्दा बढी थाइल्याण्डबाट १२ हजार ४ सय ४२ जना आएका छन् ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार नेपालमा बढी पर्यटक आउने आठौँ मुलुकमा थाइल्यान्ड पर्छ । सन् २०२३ मा २५ हजार पर्यटक आएका थिए । ती पर्यटकमध्ये बढी बौद्ध धर्मावलम्बी रहेको पर्यटन बोर्डको तथ्याङ्क छ । थाई एयर एसियाको भैरहवामा हुने सिधा उडानले यस क्षेत्रको पर्यटकीय विकासमा सकारात्मक प्रभाव पार्नेछ ।

नेपाल एसोसियसन अफ टुर्स एण्ड ट्राभल्स ९नाटा० लुम्बिनी प्रदेशका अध्यक्ष रचना पन्त थाई एयर एसिया विमानको आवागमनले आशा जगाएको भएता पनि यस्को निरन्तरताको लागि सरोकारवाला जागरूक हुनुपर्ने जरुरी रहेको बताउँछिन् ।

‘यो यहाँको सबै क्षेत्रले उठाइरहेको विषय हो, यो सम्झौता कार्यान्वयनमा लैजान सबैको चासो रहनुपर्दछ, स्थानीय, प्रदेश र संघीय सरकारले विशेष चासो दिँदै निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्नुपर्दछ’ उनले भनिन् ।

पर्यटन व्यवसायी सञ्जीवकुमार जोशी थाई एयर एसियाले भैरहवाबाट उडान गर्ने कुरा आएपछि पर्यटन क्षेत्रमा उत्साह सिर्जना भएको बताउँछन् । जोशीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रुपमा सञ्चालनमा ल्याउन जरुरी रहेको बताउँदै नियमित उडानका लागि विगतदेखि प्रभाव पारिरहेको समस्या समाधान गर्दै दिगो रुपमा उडानलाई निरन्तरता दिनुपर्ने जनाए।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले लामो समयसम्म नियमित उडान हुन नसकेको अवस्थामा अहिले थाई एयर एसियाले हप्ताको ४ वटा उडान गर्ने विषयले आशा जगाएको बताए।

सम्बन्धित् समाचार