रुपन्देही ।
रुपन्देहीको टाइगर प्यालेस रिसोर्टबाट निष्कासित कर्मचारीहरु आइतबार गेटमै अनिश्चितकालीन धर्नामा बसेका छन् । होटल व्यवस्थापनले पटकपटकको सहमति कार्यान्वयन नगरेपछि अनिश्चतकालीन धर्ना सुरु गरिएको उनीहरुको भनाइ छ ।
अदालतको आदेश र सम्झौता कार्यान्वयनको माग गर्दै आन्दोलनमा उत्रिएका कर्मचारीहरुले रिसोर्टको गेटमै पत्रकार सम्मेलन गरी माग पूरा नभएसम्म आन्दोलन जारी रहने घोषणा गरेका छन् । उनीहरुको आन्दोलनलाई नेपाली कांग्रेस निकट ट्रेड युनियन कांग्रेसले समेत साथ दिएको छ । काठमाडौंबाट युनियनका नेताहरु आन्दोलनमा साथ दिन आएका छन् ।
संघर्ष समितिका संयोजक चित्र भण्डारीले कोरोनाकालमा रिसोर्टले एकै पटक करिब ४०० कर्मचारीलाई विनाजानकारी निकालेपछि आफूहरु श्रम अदालत गएको र आफूहरुको पक्षमा फैसला आएको बताए ।
श्रम अदालतको फैसला कार्यान्वयन नगर्दै रिसोर्ट बिक्री भएको र नयाँ व्यवस्थापनले निष्कासित कर्मचारी पुनर्बहाली गर्न आलटाल गरेको उनको भनाइ छ ।