गृहपृष्ठ खबर बुद्धभूमि नगरपालिका-४ को पहिलो प्राथमिकता ‘शिक्षा’ : वडाध्यक्ष चौधरी

बुद्धभूमि नगरपालिका-४ को पहिलो प्राथमिकता ‘शिक्षा’ : वडाध्यक्ष चौधरी

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका– ४ का वडाअध्यक्ष सुशील कुमार चौधरीले आफ्नो मुख्य प्राथमिकता शिक्षा रहेको बताएका छन् । उनले गत आर्थिक बर्षमा पनि शिक्षालाई वडाले प्राथमिकतामा राखेर काम गरेको र यस बर्ष पनि सोही अनुरुप शिक्षा क्षेत्रमा वडाले बजेट विनियोजन गरेको बताए ।

वडा शैक्षिक गुणस्तर सुधारमा गम्भिरका साथ अघि बढेको बताउँदै उनले वैखरीसंग कुराकानी गर्दै भने, ‘विगतमा प्राप्त नतिजाले शिक्षाको गुणस्तर खस्किएको देखाएको छ । त्यसैको सुधारका लागी वडा गम्भिरका साथ अघि बढेको हो ।’

उनले शिक्षामा अपेक्षित परिणाम हात पार्न लगानी गर्न आवश्यक भएकाले त्यसका लागी वडाले क्रमिक रुपमा लगानी बढाउँदै लगेको बताए । साथै गरिएको लगानीको कार्यान्वयनको पाटोलाई आफुले नजिकबाट अनुगमन गर्ने गरेको उनले बताए । शिक्षा नै विकास र समृद्धिको मुख्य मेरुदण्ड भएकाले शिक्षा क्षेत्रको गुणस्तरियतालाई वडाले वडाले प्राथमिकता दिएको उनको भनाई छ ।

उनले शिक्षालाई संविधानले मौलिक हक अन्तर्गत राखेको अवस्थामा सार्वजनिक शिक्षा सुधारका लागि सबै गम्भिर हुनुपर्ने बताए । ‘वडाले शिक्षालाई मुख्य प्राथमिकता दिएको छ । शिक्षालाई संविधानले मौलिक हक अन्तर्गत राखेको छ । त्यसैले पनि यसको सुधारका निम्ति वडा गम्भिर भएर लागेको छ,’ उनले भने । उनले शिक्षामा सकारात्मक नतिजा प्राप्त गर्न नसक्दाँसम्म वडावासीको जीवनस्तरमा अपेक्षित सुधार ल्याउन नसकिने बताए ।

वडा नं.४ ले विगतदेखि वडा भित्र रहेका सामुदायिक विद्यालयका प्रअ, व्यवस्थापन समितिका पदाधिकारी, वडा शिक्षा समितिका पदाधिकारीहरुबीच गहन अन्तरक्रिया गर्दै आएको छ । उनले शैक्षिक गुणस्तर सुधारको लागि शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति र वडा शिक्षा समितिको अहम रहने बताए । गुणस्तरीय शिक्षा हरेक शैक्षिक बहसको मुख्य विषयवस्तु भईरहेकाले ठोस योजना र कार्यनीति प्रस्तुत गरेर वडा अघि बढेको उनले दाबी गरे ।

शैक्षिक पृष्ठभूमि हुदै वडाध्यक्ष भएकाले शिक्षालाई नजिकबाट बुझेको र सोही अनुरुप सुधार गर्न ठोस कदम चालेको भन्दै उनको वडासंगै नगरमै प्रशंसा समेत हुने गरेको छ ।

यस्तै वडा अध्यक्ष चौधरीले आर्थिक बर्ष २०८०/८१ मा वडाले सन्तोष जनक प्रगति हासिल गरेको बताए । उनले गत आर्थिक बर्षमा रहेका १५ वटा योजनामध्ये झण्डै १४ वटा योजना सफलता पूर्वक सम्पन्न भएको बताए ।

उनले शिक्षासंगै वडाले सडकपूर्वाधार, खरको छानोमुक्त वडालाई प्राथमिकता दिएको बताए । उनले आफ्नो कार्यकालमा वडालाई नमुना वडाको रुपमा स्थापित गर्ने गरि लागी परेको बताए ।

वडामा अझै धेरै काम गर्न बाँकी रहेको बताउँदै उनले ती काम अब योजनावद्ध तवरले सम्पन्न गर्न तर्फ आफ्नो ध्यान केन्द्रित हुने बताए । तर पुर्वाधार विकासका लागी पर्याप्त बजेट प्राप्त हुन नसकेको उनले गुनासो गरे ।

सम्बन्धित् समाचार