गृहपृष्ठ Featured वाल्मीकि आश्रम जाने झोलुंगे पुल सञ्चालनमा

वाल्मीकि आश्रम जाने झोलुंगे पुल सञ्चालनमा

परासी ।

वाल्मीकि आश्रम जानका लागि नारायणी नदीमा दुई वर्षअगाडि निर्माण सम्पन्न भएको झोलुंगे पुल सोमबारबाट सञ्चालनमा आएको छ । ऐतिहासिक धार्मिकस्थल वाल्मीकि आश्रम पुग्नका भारतीय मार्ग हुँदै जानुपर्ने बाध्यता हटाउन नारायणी नदीमा झोलुंगे पुल निर्माण गरिएको हो ।

चितवन राष्ट्रिय निकुञ्ज हुँदै पैदल जानुपर्ने र निकुञ्जमा ट्याक नखोलिएको हुँदा पुल निर्माण सम्पन्न भए पनि सञ्चालनमा आउन सकेको थिएन । पुलको नजिकै सेनाको पोस्ट राखेर धार्मिक पर्यटक र तीर्थालुलाई आश्रम जाने व्यवस्था मिलाइएपछि पुल सञ्चालनमा आएको हो ।

चितवनको माडी नगरपालिकामा रहेको वाल्मीकि आश्रम जानका लागि पूर्वी नवलपरासी र भारतीय मार्ग हुँदै जानुपर्ने बाध्यता थियो । त्रिवेणी गजेन्द्र मोक्ष दिव्यधाम क्षेत्र विकास सामितिका अध्यक्ष स्वामी कृष्ण प्रपन्नाचार्यले पुल र करिब ३ किलोमिटर लामो पैदल मार्गको उद्घाटन गरेपछि सञ्चालनमा आएको थियो ।

उद्घाटन समारोहमा गण्डकी प्रदेशका सांसदहरू, विभिन्न राजनीतिक दलका नेता, स्थानीय जनप्रतिनिधि र श्रद्धालुको ठूलो उपस्थिति थियो । अब नेपाली तीर्थालु र पर्यटकलाई वाल्मीकि आश्रम पुग्नका लागि भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता हटेको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए ।

सम्बन्धित् समाचार