दाङ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिन सत्तारुढ दल कांग्रेस, एमालेसहित साना दलले हृवीप जारी गरेका छन् ।
मुख्यमन्त्री आचार्यले मंगलबार लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २५ औं बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्दैछन् ।
साउन ७ गते आचार्य कांग्रेसका २७ र एमालेका २९ गरी ५६ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ८७ सांसद रहेको लुम्बिनी प्रदेशभामा आवश्यक बहुमतको लागि ४४ सांसद संख्या चाहिन्छ ।
मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था अनुसार ४ गते मंगलबार दिउँसो २ बजे लुम्बिनी प्रदेशसभामा आचार्यले विश्वासको मत लिने भएका हुन् ।
एमाले दलका उपनेता भएको बेला आचार्य मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री बन्न नपाएपछि लिला गिरीले दल नेताबाट साउन ७ गते नै राजीनामा बुझाएका थिए ।
शनिवार मुख्यमन्त्रीको सम्पर्क कार्यालय बुटवलमा एमाले पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालसहितको एमाले संसदीय दलको बैठकमा गिरीले राजीनामा दिएको रिक्त दल नेतामा आचार्यलाई सर्वसम्मत रुपमा चयन गरिएको हो । उपनेतामा भोजप्रसाद श्रेष्ठ, प्रमुख सचेतकमा तुलसीप्रसाद चौधरी र सचेतकमा यमुना रोका चयन भएका छन् ।
चौधरीका अनुसार मुख्यमन्त्री आचार्यको पक्षमा मतदान गर्न एमालेका सबै सांसदलाई हृवीप जारी गरिएको छ । कांग्रेस दल नेता एवं पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि विश्वासको मतको पक्षमा मतदान गर्न उपस्थित हुन सबै सांसदलाई हृवीप जारी गरेका छन् ।
सरकारलाई समर्थन गरेका जनमत पाटीका दल नेता चन्द्रकेश गुप्ता, लोकतान्त्रिक समाजवादी पाटीका दल नेता सन्तोषकुमार पाण्डेयले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने सांसदलाई हृवीप जारी गरिएको बताए । दुवै दलका ३/३ सांसद छन् । सरकारलाई जसपा २, जसपा नेपाल १ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसदले समर्थन गरेका छन् । लुम्बिनी प्रदेशसभामा विपक्षमा माओवादी १०, राप्रपा ४, नेकपा एस, राजमो र स्वतन्त्र १/१ गरी १७ सदस्य रहेका छन् ।








