अर्घाखाँची ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटनबाटै युवालाई स्वरोजगार बनाउने र लुम्बिनीका धार्मिक तथा ऐतिहासिक स्थललाई पर्यटकीय हब बनाउने लक्ष्य अनुसार १२ जिल्लालाई पर्यटन सर्किटबाट जोड्ने गरी बृहत् गुरुयोजना निर्माण थालिएको बताएका छन् ।
‘गौतमबुद्धको जन्मस्थल लुम्बिनीसहित प्रदेशका १२ जिल्लामा धेरै धार्मिक र अन्य पर्यटकीय स्थलमा पर्यटकलाई घुमाइने योजना बनाएका छौं,’ आइतबार सन्धिखर्कमा पत्रकार महासंघले आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, ‘लुम्बिनीका सबै जिल्लामा महत्त्वपूर्ण तथा ऐतिहासिक महत्त्वका पर्यटकीय स्थल भएकाले प्रचारप्रसार गरेर स्वदेशी तथा विदेशी पर्यटकलाई भ्रमण गराइने प्रदेश सरकारको तयारी रहेको छ ।’
लुम्बिनीमा तराईका ६, पहाडका ५ र हिमाली एक जिल्ला छन् । जसभित्र धार्मिक, प्राकृतिक लगायत अन्य थुप्रै पर्यटकीय स्थलहरूमा स्वदेशी तथा विदेशी पर्यटक भित्र्याएर स्थानीयलाई स्वरोजगार उन्मुख बनाइने उनले बताए । पर्यटन उद्यम, पर्यटन व्यवसायदेखि तरकारी उत्पादन गर्ने कृषकलाई समेत पर्यटनबाट गाउँमै रोजगारी सिर्जना गर्न सकिने आफूहरूको योजना रहेको पनि उनले बताए ।
मुख्यमन्त्री आचार्यले रूपन्देही, कपिलवस्तु र नवलपरासीलाई बौद्ध सर्किटका रूपमा विकास गरेर लैजाने पनि बताए । गौतम बुद्धको जन्मस्थल लुम्बिनी, पाल्पाको श्रीनगर, दरबार संग्रहालय, रानीमहल तीन जिल्लाको संगमस्थल रुरुक्षेत्र, गुल्मीको रेसुंगा, अर्घाखाँचीको छत्रमहाराज, बल्कोट, सुपादेउराली, प्यूठानको स्वर्गद्वारी, रोल्पाको युद्ध संग्रहालय, सिस्ने, पुथा हिमाल भ्रमण गरेर दाङ हुँदै बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा भ्रमण गराएर बसाल्ने गरी योजना बनाइने उनले बताए ।