रूपन्देही
रूपन्देहीमा दुई महिनामा एक सय आठ उद्योग बन्द भएका छन् ।
आर्थिक वर्ष २०७९/८० मा ८४ वटा उत्पादनमूलक, ६३ वटा सेवामूलक, ५१ वटा पर्यटन र १९ वटा कृषि तथा वनजन्य गरी दुई सय १७ वटा उद्योग बन्द भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । यही अवधिमा कृषि तथा वनजन्य ४१९, उत्पादनमूलक २८१, सेवामूलक २४४ र पर्यटन उद्योग १८६ वटा गरी एक हजार १३० वटा उद्योग दर्ता भएको थिए।
कार्यालय प्रमुख लोककुमार कार्कीका अनुसार आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा उद्योग दर्ताको सङ्ख्या घटेको र उद्योग बन्द गर्नेको सङ्ख्या बढेको छ। आव २०७९/८० मा एक हजार १३० वटा उद्योग दर्ता भएकामा गत आवमा ८३७ वटा उद्योग मात्रै दर्ता भए। आव २०७९/८० मा २१७ उद्योग बन्द भएकामा आव २०८०/८१ मा ३५४ वटा उद्योग बन्द भएका छन्।
चालु आवको दुई महिनामै १०८ वटा उद्योग बन्द भएका छन्। साउनमा ९१ उद्योग दर्ता हुँदा ४१ बन्द भएका र भदौमा १७३ उद्योग दर्ता हुँदा ६७ वटा बन्द भएका घरेलु तथा साना उद्योग कार्यालय प्रमुख कार्कीले बताए।
आर्थिक मन्दीको सबैभन्दा बढी असर उत्पादनमूलक उद्योगमा परेको उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ बताउँछन्। ‘रूपन्देही औद्योगिक केन्द्रका रूपमा रहेको छ, तर पछिल्लो समय ठूला-ठूला उद्योगमध्ये कतिपय बन्द भइसके, सञ्चालनमा रहेकामध्ये ३० देखि ४० प्रतिशत मात्र उत्पादन गर्ने अवस्थामा रहेका छन्। यहाँ उत्पादित वस्तुका उपभोक्ताको सङ्ख्यामै कमी आएको छ। अधिकांश उपभोक्ता विदेसिएका कारण पनि उद्योग मारमा परेका छन्।’
यहाँ करिब १० वटा सिमेन्ट उद्योगमध्ये आधा बन्द भइसकेका छन् भने व्यवसाय र अन्य निर्माणजन्य उद्योगहरूको अवस्था पनि उस्तै छ। उद्योगी-व्यवसायीका समस्या समाधानका लागि सरकारले प्रवर्धनात्मक तथा सहुलियतका कार्यक्रम अगाडि बढाउनुपर्ने धेरैको माग छ।








