गृहपृष्ठ Featured कांग्रेसमा मन्त्री छान्ने विवादले लुम्बिनीमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

कांग्रेसमा मन्त्री छान्ने विवादले लुम्बिनीमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

बुटवल ।

कांग्रेसमा मन्त्री छान्ने विषयमा विवाद हुँदा लुम्बिनीमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । कांग्रेसको भागमा रहेको दुई कोटामा मन्त्री छान्न ढिलाइ हुँदा त्यसको असर सरकार विस्तारमा पनि परेको हो ।

१२ सदस्यीय मन्त्रिमण्डल हुने लुम्बिनी सरकारमा एमालेले ५, कांग्रेसले ५ र बाँकी मन्त्रालय साना दलले पाउने सहमति भएको थियो । त्यही सहमतिअनुसार गत साउन ७ मा मुख्यमन्त्रीमा एमालेका चेतनारायण आचार्य नियुक्त भएका थिए । साउन ९ मा उनले एमालेबाट ४ र कांग्रेसबाट ४ मन्त्री नियुक्त गरेका थिए ।

तर, वन तथा वातावरणमन्त्रीमा नियुक्त बादशाह कुर्मीले राजीनामा दिएपछि सरकारमा अहिले कांग्रेसका ३ मन्त्री छन् । बाँके ३ (२) बाट निर्वाचित कुर्मी बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणका मुख्य आरोपित हुन् । अनुसन्धान नै प्रभावित गराउने गरी उनलाई सांसद र मन्त्री बनाइएको भन्दै महिला अधिकारकर्मीहरू आन्दोलित भएका थिए । चौतर्फी दबाब र विरोधपछि उनले गत भदौ २५ मा पदबाट राजीनामा दिएका थिए ।

मुख्यमन्त्री आचार्यले अहिले कुर्मीले राजीनामा दिएको मन्त्रालय छाडेर मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् । कांग्रेसभित्र विवाद पनि बढेकाले कुर्मीले राजीनामा दिएको बताउँदै कांग्रेस लुम्बिनी प्रदेश समितिका एक पदाधिकारीले मन्त्री पद खाली राखेर मन्त्रिपरिषद विस्तार गर्नेबारे कांग्रेसभित्र छलफल भएको जानकारी दिए ।

सम्बन्धित् समाचार