रुपन्देही ।
लुम्बिनी विकास कोषका पदाधिकारीमाथि निर्माण व्यवसायी सम्बद्ध व्यक्तिहरुबाट भएको हातपात र अभद्रव्यवहारप्रति विभिन्न ९ राजनीतिक दलहरुले निन्दा व्यक्त गरेका छन् ।
नेपाली काँग्रेस लुम्बिनी साँस्कृतिक नगर सभापति विन्दराम यादव, नेकपा एमाले लुम्बिनी साँस्कृतिक नगर समितिका उपाध्यक्ष मञ्जु ढकाल, नेकपा माओवादी केन्द्र नगरअध्यक्ष महेन्द्र यादव,नेकपा एकिकृत समाजवादी नगरअध्यक्ष सफिउरहमान अन्सारी, राष्ट्रिय स्वतन्त्र पार्टी नगर सचिव रामाकान्त वर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर कोषाध्यक्ष हिन्दराज यादव, जसपा नगर उपाध्यक्ष हुसेनी लोध, जनमत पार्टी नगर सचिव बोजिउद्धिन मुसलमान र लोसपा नगर अध्यक्ष राफिक अहमद मुसलमानले हस्ताक्षर गरी विज्ञप्ती जारी गरेका हुन् ।
विज्ञप्तीमा आन्दोलन गर्न र आफ्ना माग राख्न पाउने तर, संवाद र सहमतीबाटै निकास निकाल्न सकिने अवस्था हुँदा हुँदै यस खालको घटनाले विश्वमा लुम्बिनीको गरिमामा आँच आउनेतर्फ समेत सबै पक्षलाई सचेत गराइएको छ ।
दलहरुले लुम्बिनी विकास कोषलाई समेत निर्माण कार्य सम्पन्न गरेका निर्माण व्यवसायिहरुलाई भुक्तानीको सहज वातावरण मिलाउन समेत आग्रह गरेका छन । विश्वशान्तिको मुहान,महामानव गौतम बुद्धको पवित्र जन्मस्थललाई शान्तिमय वनाउन आमनागरिक, सामाजिक संघ संस्था तथा व्यवसायी सबैमा दलहरुले आग्रह गरेका छन् ।








