लगातारको झरीले अर्घाखाँचीका सबै जसो ग्रामीण सडक बन्द भएका छन्। ठाउँ-ठाउँमा पहिरो खसेपछि गाउँ जाने सबैजसो ग्रामीण सडकहरू बन्द भएका हुन्।
अर्घाखाँचीको मुख्य सडक सन्धिखर्क-गोरुसिङ्गे सडकखण्डको १२ स्थानमा पहिरोले अवरुद्ध बनाएको छ। ६८ किलोमिटर लामो सडकखण्डको फुदबाङ, जगत, दहखोला, घुम्ती, राजुबास, बर्बोट, बसेरी लगायतका स्थानमा सडक अवरुद्ध छन्।
सडक खुलाउने कार्य जारी छन्। सडक खुलाउन जेसिबी, प्रहरी र सडक कर्मचारीको प्रयोग गरिए पनि वर्षा नरोकिएकाले एकातर्फ सडक खुलाएर सुचारु गराउँदा अर्को तर्फ पहिरो जाने गरेको छ। जसले गर्दा सडक पूर्ण रुपमा सुचारु हुन सकेको छैन।
शनिबार बिहानदेखी दर्जन स्थानमा सडकको पहिरो पन्छाउने कार्य गरेपनि सडक पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको नरपानी प्रहरी चौकीका प्रमुख अर्जुन बस्नेतले जानकारी दिए।








