गृहपृष्ठ Featured दशैंको टीका शुभ साइत : कुन देशमा कति बजे ?

दशैंको टीका शुभ साइत : कुन देशमा कति बजे ?

काठमाडौं।

अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरको लागि पनि दसैँको टीका लगाउने उत्तम साइत तयार पारेको छ । समितिको ११ गते शुक्रबार बसेको बैठकले ३० वटा देशमा टीका लगाउने सही समय तय गरेको समितिका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार धेरै नेपालीको बसोबास रहेको क्षेत्रमा माग बमोजिम यी देशमा टीकाको साइत तयार पारिएको बताए । अहिले अमेरिकाको लागि त्यहीँको समयसँग मिल्दो पात्रो बनाउने काम समेत चलिरहेको भन्दै विदेशमा बस्नेहरूको लागि पनि दसैँको टीकामा अन्यौल नहोस् भनेर त्यहीको ग्रहको दृष्टि अनुसार समय यकिन गरिएको उनको भनाइ छ ।

यस्तै समितिका सदस्य सचिव आचार्य लक्ष्मण पन्थीले अघिल्लो वर्ष विदेशमा समेत टीका लगाउने यकिन समय तय गरिएकोमा यो वर्ष माल्टा, अमेरिकाको केन्टुकी वोवेन्सवोरो लगायतबाट यसको माग भएकोले माग बमोजिम ३० वटा देशमा टीका लगाउने साइत जुराइएको जानकारी दिए ।

उनले अनलाइनखबरसँग भने, ‘यसपटक हामीले  माल्टा, अमेरिकाको केन्टुकी र वोवेन्सवोरोमा त्यहीको ग्रहको दृष्टि अनुसार फरक समय तोकेका छौं।’

कुन देशमा टीका लगाउने कति बजे ?

समितिका अनुसार अमेरिका, क्यानडामा अक्टोबर १२ तारिकमा टीकाको शुभ साइत जुरेको छ । जसमध्ये अमेरिकाको न्युयोर्क सहरमा प्रातः १० बजेर १ मिनेटमा,  फ्र्याङ्‌कफर्ट केन्टुकीमा १०: ३१ मिनेटमा,  वोवेन्सवोरो केन्टुकीमा ९ :४५ मिनेटमा,  टेक्सासमा १०: ०५ मिनेटमा, वासिङ्गटन डिसीमा ९ : ५५ मिनेट र क्यालिफोर्नियामा ९ :३९ मा टीकाको शुभसाइत जुरेको छ ।

क्यानडाको टोरोन्टोमा १० बजेर १५ मिनेटमा र भ्यानकुभरमा १०:२७ मिनेटमा टीकाको शुभ साइत जुरेको छ । साथै भारत, पोर्चुगल,  बेलायत, फ्रान्स, नर्वे, मलेसिया, युएई, कतार, थाइल्याण्ड, इजरायल, सिंगापुर, साउदी अरेबिया,  म्यानमार, स्वीटजरल्याण्ड र माल्टामा  १२ अक्टोबरमै टीकाको शुभ साइत जुराइएको छ ।

यस्तै समितिले जापान, अस्ट्रेलिया, न्‍यूजिल्याण्ड,  दक्षिण कोरियामा १३ तारिखमा टीकाको शुभ साइत जुराएको छ । जसमा जापानको टोकियोमा ११ बजेर ३५ मिनेटमा शुभ साइत रहेको छ भने अस्ट्रेलियाका शहरहरू सिड्नीमा ११ बजेर २१ मिनेटमा, मेलवर्नमा  ११ बजेर २७ मिनेटमा, ब्रिसवेनमा ११ बजेर २९ मिनेटमा र क्यानबेरामा ११ बजेर १५ मिनेटमा शुभ साइत तोकिएको छ ।

यस्तै न्यूजिल्याण्डको वेलिङटनमा ११ बजेर २५ मिनेटमा, दक्षिण कोरियाको सियोलमा  ९ बजेर  ९ बजेर १५ मिनेटमा र हङकङमा ११ बजेर ४३ मिनेटमा शुभ साइत जुराइएको अन्तराष्ट्रिय पञ्‍चाङ्ग निर्णायक समितिले जनाएको छ ।

हेर्नुहोस अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिको विज्ञप्ति : 

सम्बन्धित् समाचार