रुपन्देही ।
एसईई तयारी गरेका बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयमा अध्ययनरत १५ वर्षीय दीपेश भट्टराई र दीपिका भट्टराई जुम्ल्याहा दाजुबहिनी हुन् । विद्यालयमा उत्कृष्ट नतिजा ल्याउँदै गरेका उनीहरु शुक्रबार आमालाई लिएर नयाँ खुसीयाली पाउन काठमाडौं जाँदै थिए ।
स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ३ स्थायी भएको भट्टराई परिवार बुटवलमै बसेर उनीहरुलाई पढाउँदै आएका थिए । यी दाजु-बहिनी नेपाल एस्ट्रोनोमिकल सोसाइटीले आयोजना गरेको नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ मा पहिलो चरणमा छनोट भइसकेपछि दोस्रो चरणको लागि उनीहरू बंगलादेश जान आमासँगै काठमाडौं हिँडेका थिए ।
‘कक्षा १० मा आउने एसईईमा उत्कृष्ट अंक ल्याउने सूचीका विद्यार्थी थिए, कक्षामा उनीहरु निकै अब्बल विद्यार्थी थिए बहुविधामा, आफैँ अनलाइन फाराम भरेर छनौट भएपछि हामीले सहभागिताका लागि जान भनेका हौं, आमासँग गएका उनीहरु त्यो खुसी देख्नै पाएनन्, उनीहरुको असामयिक निधनले हामीलाई स्तब्ध बनाएको छ’, विद्यालयका प्राचार्य दिनेश थापाले भने ।
विद्यालयका शैक्षिक संयोजक दीपक बञ्जाडे नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनामा काठमाडौंमा नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ को पहिलो सेसन सकिएर दोस्रो चरणमा बंगलादेश जाने तयारीका लागि उनीहरू काठमाडौं गएको बताउँछन् ।
उनीहरूको यात्रा काठमाडौंका हुँदै बंगलादेशसम्मको भएपनि त्यो यात्रा झ्याप्ले खोलामै सकिएको छ । काठमाडौं पुग्न करिब २० किलोमिटर मात्र बाँकी रहेको धादिङको झ्याप्ले खोलामा उनीहरु रहेको वींगर शुक्रबार पुरिएपनि शनिबार मात्रै भेटिएको थियो ।
गाडीमा रहेका दीपेश–दीपिकासहित १४ जनाकै मृत्यु भएको हो । दीपेश–दीपिकाका बाबु होमनाथ भट्टराई कोरियामा काम गर्दैछन् । उनका १५ वर्षका छोराछोरी दीपेश–दीपिकाले बुटवलको कालिका माविमा भविष्य निर्माणको यात्रा थालेका थिए । उनीहरूको लक्ष्य थियो एसईईमा उत्कृष्ट प्रदर्शन गरेर उच्च शिक्षातर्फ अग्रसर हुने ।
शुक्रबार बिहान पनि श्रीमती सीता र छोराछोरीसँग होमनाथको कुरा भएको आफन्तहरु बताउँछन् । उनीहरू बङ्गलादेशको सम्मेलनका लागि निकै उत्साहित थिए तर, होमनाथलाई कल्पना थिएन कि आफ्नो परिवार सधैँको लागि गुमाएको खबर सुन्नुपरेको छ ।
होमनाथ भट्टराई कोरियाबाट फर्किए पनि घरमा परिवारका सदस्य पाउनेछैनन्, शोकमा डुबेको आफन्त र छरछिमेकको भीड मात्रै हुनेछ । सीताका मामा ससुरा नगेन्द्रराज पाण्डेयका अनुसार कोरियामा रहेका होमनाथलाई जतिसक्दो छिटो बोलाइएको छ ।








