काठमाडौँ ।
बाबर आजमले पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट राजीनामा दिएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । उनले परिवार र आफ्नो खेलमा समय दिनका लागि कप्तानबाट राजीनामा दिएको बताएका छन् ।
‘टिमको नेतृत्व गर्नु सम्मानको कुरा हो । तर अब मैले पद छाड्दै आफ्नो खेलमा ध्यान केन्द्रित गर्ने समय आएको छ,’ उनले लेखेका छन् ।
विश्वकप-२०२३ मा पाकिस्तानको कमजोर प्रदर्शनपछि बाबरले पहिले नै नेतृत्व छाडेका थिए । तर फेरि पाकिस्तान क्रिकेट बोर्डले मार्चमा उनलाई पुन: कप्तानी जिम्मेवारी दिएको थियो ।
बाबरलाई ट्वान्टी-२० र एकदिवसीय फर्म्याटमा पाकिस्तानी क्रिकेट टिमको कप्तानी जिम्मेवारी दिइएको थियो । भारतमा भएको विश्वकपमा पाकिस्तानले लिग चरणका नौ खेलमध्ये पाँचमा हार बेहोरेको थियो भने टिम सेमिफाइनल प्रवेश गर्न पनि असफल रहेको थियो ।








