लुम्बिनी विकास कोषको आम्दानीमध्ये ५० प्रतिशत स्थानीय विकासका लागि छुट्याउनुपर्ने लुम्बिनीवासीले माग गरेका छन् । उनीहरुले स्थानीयको सहभागिताबिना लुम्बिनीको गुरुयोजनाले सार्थकता पाउन नसक्ने बताए ।
लुम्बिनीमा गठित लुम्बिनी बचाउ महाभियानका संयोजक अकरामुद्दीन खाँले अबका दिनमा लुम्बिनीको विकास र पहरेदारीको जिम्मा स्थानीयलाई सुम्पिनुपर्ने आफूहरुको माग रहेको बताए । उनले एशियाली विकास बैंकबाट लुम्बिनी विकास कोषलाई अनुदानमा प्राप्त विद्युतीय बस र भ्यान संचालन गरेर पर्यटकलाई लुम्बिनी घुम्न सहज बनाउनुपर्ने बताए ।
लुम्बिनी गुरुयोजनाअनुसार सांस्कृतिक ग्राम क्षेत्रभित्र एक माध्यमिक विद्यालय र अस्पताल निर्माण हुनुपर्ने महाभियानको माग रहेको उनले बताए ।
उनले अनाधिकृत संरचना बनाएर कोषभित्र गेस्ट हाउस सञ्चालन गरिएको भन्दै त्यसलाई बन्द गर्न माग गरे ।








