खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको होराखास्थित ‘तीन टोलिया कृषि सहकारी संस्था’ले मादक पदार्थ सेवन गर्न छाड्ने सदस्यहरूलाई सम्मान गरेको छ ।
सहकारीमा आबद्ध सदस्यहरूमध्ये मादक पदार्थ सेवन गर्न छाड्ने गङ्गाबहादुर श्रेष्ठ, निरबहादुर दाहाल र मौलबहादुर राईलाई जनही नगद पाँच हजार पाँच सयका साथमा प्रमाणपत्रसहित सम्मान गरेको हो ।
अत्यधिक मात्रामा मापसे गर्नाले समाजमा विकृति सिर्जना हुँदै गएकाले न्यूनीकरण गर्न प्रोत्साहनस्वरुप सेवन गर्न छाड्ने शेयर सदस्यहरूलाई सम्मान गरिएको सहकारी संस्थाका सहप्रबन्धक तेजबहादुर राईले जानकारी दिए । ‘अत्यधिक मात्रामा पादक पदार्थ सेवनले समाजमा झैझगडा हुनाका साथै परिवारसमेत विखण्डन हुने गरेका धेरै घटनाहरू छन् । त्यसलाई न्यूनीकरण गर्दै उत्पादनमूलक क्षेत्रमा लाग्न प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले सम्मान अभियान थालेका छौँ’, उनल भने, ‘पहिलो चरणमा सहकारीमा आबद्ध शेयर सदस्यबीचमा यो कार्यक्रम लागू गर्छौं । त्यसपछि क्रमशः गाउँटोलका अन्य घरमा समेत अभियानकै रुपमा कार्यक्रम लैजाने योजना छ ।’








