रुपन्देही ।
रूपन्देहीको गैँडहवा गाउँपालिकाले ‘छोरी बचाउ छोरी पढाउ’ अभियान अन्तर्गत गाउँपालिकामा जन्मिएका बालिकाको बालिका बीमा गर्ने भएको छ । बालिकाको प्रोत्साहन, छोरीको शैक्षिक विकास, तथा बाल विवाह रोक्नका लागि ‘गाउँपालिका अध्यक्ष बालिका बिमा योजना निर्देशिका, २०८१’ मा उल्लेख भए बमोजिम गैंडहवा गाउँपालिका र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स बिचमा सम्झौता भएको हो ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका लुम्बिनी प्रदेश उपप्रमुख कृष्णप्रसाद पोख्रेलले गैँडहवा गाउँपालिकामा जन्मिएका बालिकाका लागि सरकारको नीतिगत व्यवस्था तथा गाउँपालिकाको दीर्घकालिन सोचका लागि बालिका बीमा गाउँपालिका र बीमा कम्पनीका बिचमा सम्झौता भएको बताए ।
बालिका बीमाले गाउपालिकामा जन्मिएका बालिकाको अभिभावक वुवा वा आमाको जोखिम बहन हुने गरी एकल भुक्तानीमा बालिका बीमा भएको बताउँदै २० वर्षभित्र बालिकाको वुवा वा आमा दुर्घटना वा अन्य कुनै पनि कारणले मृत्यु भएमा कम्पनीको नियम अनुसार गाउँपालिकाको सिफारिसले बालिकालाई एक मुष्ठ भुक्तानी गरिने पोख्रेलले बताए ।








