कालीकोटको महाबै गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेको छ। चालू आर्थिक वर्षबाट गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेको हो।
चालू आवको तीन महिनाको सामाजिक सुरक्षा भत्ता लाभग्राहीलाई दिइसकेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले ४९ देखि ५९ वर्ष उमेर समूहका एकल पुरुषलाई मासिक रु. एक हजारका दरले सामाजिक सुरक्षा भत्ता दिन थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंहले जानकारी दिए। ‘चालू आवको गाउँसभाबाट एकल पुरुषलाई भत्ता दिने निर्णय गरेको हो,’ उनले भने, ‘साउनदेखि असोजसम्मको सामाजिक सुरक्षा भत्ता दिइसकेका छौँ।’
मापदण्डभित्रका एकल पुरुष काम गर्न शारीरिक रूपमा कमजोर हुँदै जाने उमेर समूहका भएकाले उनीहरूको सहाराका लागि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताए।








