दाङ
घरायसी जग्गा विवादका कारण दाजुले चक्कु प्रहार गरी भाइको हत्या गरेको खुलासा भएको छ। बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर घटनाको बारेमा प्रहरीले सार्वजनिक गरेको हो।
मङ्गलबार बिहान भक्तपुरको चाँगुनारायण नगरपालिका- ६ घर भइ हाल दाङको बबई गाउँपालिका- ४ बस्ने सोमार तामाङका २० वर्षीय छोरा अनिल तामाङलाई उनका दाजु ३२ वर्षीय पूर्ण तामाङले चक्कु प्रहार गरी हत्या गरेको खुलासा भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डीएसपी अनिल ठकुरीले बताए।
अनिल असोज २३ गते बुबाआमा बस्दै आएको ठाउँ दाङको बबई गाउँपालिका ४ हापुरे आएका थिए। घरायसी जग्गा विवादका कारण दाजु पूर्णले अनिललाई मङ्गलबार बिहान करिब सवा १० बजेतिर चक्कु प्रहार गरेका थिए।
मदिरा सेवन गरेका भाइ अनिलले नै आफै पेटमा चक्कु प्रहार गरेको प्रहरीलाई खबर गरेका थिए। घाइते अवस्थामा रहेको अनिललाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याएको थियो। उनको उपचारको क्रममा बिहान करिब ११ बजेतिर मृत्यु भएको डीएसपी ठकुरीले बताए।
उनका अनुसार सो घटना शङ्कास्पद लागेपछि इप्रका तुलसीपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमान्डमा विशेष प्रहरी टोली गइ घटना भएको ठाउँदेखि केही पर लुकीछिपी बसेको पूर्णलाई नियन्त्रणमा लिइएको थियो। प्रारम्भिक सोधपुछ र अनुसन्धान गर्दै जाँदा पूर्णले नै घरायसी जग्गा विवादका कारण भाइलाई चक्कु प्रहार गरी हत्या गरेको खुल्न आएको उनको भनाइ छ।








