कपिलवस्तु ।
जिल्लाको शिवराज नगरपालिकाले तिहारमा प्लास्टिकजन्य मालाको बिक्री वितरण तथा प्रयोग रोक लगाएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै स्थानीय फूल मालाको प्रयोगमा जोड दिएको हो।
प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ प्लास्टिकजन्य फूल मालाको प्रयोगले वातावरण प्रदूषणका साथै मानव स्वास्थ्यमा समेत असर पर्ने र यहाँका स्थानीय कृषकद्वारा उत्पादित फूलले बजार नपाउने भएकाले प्लास्टिकजन्य मालाको बिक्री वितरणमा रोक लगाइएको हो।
वातावरण संरक्षण ऐन २०७६ को दफा १५ को उप दफा ६ ले दिएको अधिकार प्रयोग गरी प्लास्टिक जन्य सामानका फुलगुच्छा, मालाको भण्डारण, बिक्री वितरण, आयात र प्रयोगमा रोक लगाइएको मेयर अजय थापाले बताए। साथै सयपत्री, गोदावरी र मखमली फूलको प्रयोग गरी स्थानीय रुपमा उत्पादित फूलको बजारीकरणमा सहयोग गर्दै ठूलो धनराशि बाहिरिन रोक्नुपर्नेमा जोड दिइएको छ।









