पाल्पा ।
सम्म परेको फाँटमा पानी अडिने गरी गरा बनाएर धान रोपिन्छ । तर पाखो बारीमै धान फलेको भन्दा अचम्म मान्नै पर्ने हुन्छ । हुन त बूढापाकाले रैथाने घैया जातको धान फलाएकै हुन् ।
नयाँ पुस्तामा भने घैया जातका बारेमा खासै जानकारी छैन । अहिले पाल्पामा पाखो बारीमा नयाँ जातको हाइब्रिड धान परीक्षण गरिएको हो । कृषि प्राविधिकका अनुसार घैयाभन्दा हाइब्रिड धान अझ राम्रो फलेको छ ।
पाखो, पानी नजम्ने, पारिलो घाम लाग्ने बारीमा परीक्षणका लागि लगाएको धान सफल भएको कृषि प्राविधिकले बताए । तानसेन नगरपालिका–९, को डाँडाडुम र वडा नम्बर-७ को कुन्सरेमा एनपीएच ३६९ राजा जातको हाइब्रिड धान पाखो बारीमा सफल भएको कृषि प्राविधिक तथा किसान सरोजराज तिमिल्सेनाले बताए ।
यो जातको बीउ एग्रोभेट व्यवसायी विष्णुप्रसाद भण्डारीले ल्याएका हुन् । पहाडी भूगोल, भिरालो जमिन र कम पानीमा लगाउन सकिने धानको उत्पादन पनि राम्रो भएको अर्का किसान ठाकुर भटराईले बताए ।
वन्यजन्तुका कारण गाउँबस्तीका पाखो बारी बाँझो हुँदै गएको छ । मकै, गहुँ, कोदो, फापर खेती गर्ने बारीमा बाँदर र अन्य वन्यजन्तुले किसान हैरान भएका छन् । त्यही बारीमा धानका बाला झुल्दा भने किसान दंग नपर्ने कुरै भएन । ‘पाखो बारीमा धान फलेको देख्दा सबैको मन नलोभिने कुरै भएन,’ तानसेन नगरपालिका–९, डाँडाडुमका किसान भट्टराईले भने, ‘पहिला नराम्रो भन्नेहरू अहिले आएर हेरेर दंग पर्दै फर्किएका छन् ।’ उनले दुई रोपनी बारीमा परीक्षणका लागि धान लगाएका हुन् ।