काठमाडौँ ।
भारतको विमान सेवा कम्पनी भिस्तारा एयरको विमानमा कुनै शंकास्पद वस्तु फेला नपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानमा बम राखेको हल्ला फैलिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले जाँच गर्दा बम नभेटिएको हो ।
उक्त विमानमा कुनै पनि शंकास्पद वस्तु नभेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नियमित रूपमा सञ्चालन भइरहेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए ।
उनले विमानमा शंकास्पद वस्तु फेला नपरेपछि विमानलाई खतरामुक्त घोषणा गरिएको बताए । “विमानको बाहिरी, भित्री र यात्रु तथा सबै सामान जाँच भयो । शंकास्पद वस्तु फेला नपरेपछि विमानलाई खतरामुक्त पनि घोषणा गरिएको हो”, सूचना अधिकारी भूलले भने, “अहिले विमानस्थलको सबै उडान सामान्य अवस्थामा सञ्चालन भइरहेका छन् । व्यागेज सम्बन्धित यात्रुलाई हस्तान्तरण गर्ने काम भइरहेको छ । उक्त विमानले नियमित उडानमा काठमाडौँबाट यात्रु लिएर नयाँदिल्ली उड्ने तयारीमा रहेको छ ।”








