लुम्बिनी ।
विश्व शान्तिको कामना गर्दै लुम्बिनी स्थित शान्ति स्तुपामा पूजाआजा गरिएको छ । स्तुपाको २३ औं वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित कार्यक्रममा भिक्षु भिक्षुणीहरु धार्मिक विधिपुर्बक बौद्ध परम्पराअनुसार पूजाआजा गरेका थिए । नेपाली भिक्षुले थेरबाद परम्परा अनुसार पुजा गर्दै प्रार्थना गरेका थिए ।
त्यसपछि भियतनाम, चाईनिज, थाई, कोरियन र हिमालय परम्परा अनुसार धर्मगुरु र भिक्षु भिक्षुणीले आआफनो परम्परा अनुसार शान्तिपाठ गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि जापानको हिइजान ज्योसिन विहारका प्रमुख तथा भारतको नागपुर स्थित इचिज्योन महासमाधिभमि विहारका प्रमुख भिक्षु संघरत्नले महामानव बुद्धकै सन्देशले विश्व शान्ति सम्भव हुँदा सबैले अनुशरण गरेर हिंसारहित समाज बनाउन सके उनको सन्देश सार्थकता हुने बताए । उनले स्वर्गिय जापानी निचिडात्सु फुजी गुरुले विश्वभरि बनाएका ८० बढी विश्व शान्ति स्तुपले शान्ति फैलाउन तरंगको काम गरिरहेको बताए ।
निप्पोजान म्याहोजी संस्थाका संस्थापक फुजी गुरुले उक्त स्तुप निर्माण गरेका हुन् । कार्यक्रममा शान्ति स्तुपा प्रमुख भिक्षु सातो तात्सुमा र अर्का जापानी भिक्षु योनिसी ओनीसीले पनि बोलेका थिए ।








