बुटवल ।
बुटवल–गोरुसिङ्गे सडक विस्तारका लागि सडक किनारमा रहेका करिब सात हजारभन्दा बढी रुख काट्न सडक विभागले स्वीकृति दिएको छ । सडक विभागले स्वीकृति दिएसँगै अब बुटवल–गोरुसिङ्गे सडक विस्तारको काम सुरु हुने भएको छ । राजा महेन्द्रको पालामा विसं २०१९ सालमा बनेको बुटवल–गोरुसिङ्गे ५० किलोमिटर सडकखण्ड विस्तारको काम सुरु हुने चरणमा छ ।
बुटवल–गोरुसिङ्गे सडक आयोजना कार्यालय बुटवलकी प्रमुख इन्जिनियर कुशलता न्यौपानेले सडक विभागले बुटवल–गोरुसिङ्गे ५० किलोमिटर सडक विस्तारको क्रममा कटान गर्नुपर्ने करिब सात हजार रुखका लागि सडक विभागबाट स्वीकृति प्राप्त भएको बताउनुभयो ।
उहाँले सडक नापजाँच, सर्भे गर्ने, विद्युत् पोल सार्ने र सडक किनारका संरचना खाली गराउने काम भइरहेको र सबै प्रक्रिया पूरा भइसकेको बताउनुभयो । यसअघि आयोजनाले दसैँपछि लगत्तै सडक विस्तारको काम सुरु हुने जनाएको थियो । सडक संरचनाभित्र परेका घरधनीले भने आफैँ घर भत्काएर क्षतिपूर्ति समेत लिइसकेका छन् ।
चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ गु्रप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले उक्त सडक विस्तारका लागि १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपियाँमा गत असार १३ गते ठेक्का लिएको हो । आयोजना प्रमुख इन्जिनियर न्यौपानेका अनुसार ५० किलोमिटर सडक दुई चरणमा २५/२५ किलोमिटर गरी विस्तार गर्न लागिएको हो ।








