वैखरी अनलाईन, लुम्बिनी ।
लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद ज्ञवालीले नेपालको कर्मचारीतन्त्रप्रति प्रश्न उठाउँदै आक्रोस व्यक्त गरेका छन् ।
प्रमुख प्रशासकिय अधिकृत ज्ञवालीले शुक्रबार सामाजिक संजाल फेसबुकमा लेख्दै नेपालको कर्मचारीतन्त्र निकम्मा र असफल मानिसको हातमा गएको भन्दै आक्रोस पोखेका छन् । उनले कर्मचारी कर्मचारी जस्तै बन्न र राजनिज्ञ राजनीतिज्ञ नै बन्न अनुरोध समेत गरेका छन् ।
‘हो, मैले आजसम्म सुनेको मात्र थिएँ नेपालको कर्मचारीतन्त्र मरिसकेको छ । यसलाई जिवित रहोस् भन्ने कामना भने सधै गरिरहन्थें तर, नेपालको कर्मचारीतन्त्र यति निकम्मा र असफल मानिसको हातमा गएको रहेछ, ती नेतृत्वदायी निकम्माहरुलाई लोकतन्त्र के हो ? बिधिको शासन के हो ? भन्नेसम्मको सामान्य जानकारी आजसम्म रहेनछ ! यति निकम्मा मानिसहरू जुन जुन स्थानमा छन् तिनीहरू तत तत स्थानमा कानून र लोकतन्त्रको मर्म बिपरित निकै नै अप्रिय कार्यमा ब्यस्त छन् । उनीहरू प्रति मेरो हार्दिक श्रद्धाञ्जली छ । यिनीहरूको पदीय हैसियत त केही रहेन नै, कम्तिमा कानून खुल्लमखुल्ला उल्लंघन गरे पनि जनमतको सम्मान लोकतन्त्रमा हुन्छ र हुनुपर्छ भन्नेसम्मको साधारण जानकारी नहुने नाम मात्रका तालुक पदाधिकारीबाट प्रशिक्षण प्राप्त गर्न कम्तिमा मेरा लागि संभव हुदैन! यहाँलाई लाग्ला यो फलानो तिलानो भाकोले यस्तो बोल्यो लेख्यो, तर यो पनि म स्पष्ट पार्न चाहन्छु कि म आजसम्म कसैलाई भोट नदिएको कर्मचारी हुँ! म केबल कर्मचारी मात्र हुँ, बरु पटकपटक निर्वाचन अधिकृतको रुपमा निश्पक्ष भुमिका निर्वाह गरेको कुरा मेरा सम्मान पत्रहरुले बोल्दछन जसको सत्यता जनताबाट बुझ्न सकिन्छ जुन खुला नै छ । त्यसैले मेरो अनुरोध– कर्मचारी कर्मचारी जस्तै बनौं र राजनीज्ञ राजनीतिज्ञ नै बनौं ! हुन्न र ?’ उनले सामाजिक संजालमा लेखेका छन् ।









