गृहपृष्ठ Featured आज रवि लामिछानेलाई चौथोपटक अदालतमा पेस गरिँदै

आज रवि लामिछानेलाई चौथोपटक अदालतमा पेस गरिँदै

रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज प्रहरीले म्याद थपका लागि चौथोपटक अदालतमा उपस्थित गराउने भएको छ । सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धानका लागि पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।

कास्की प्रहरीको हिरासतमा रहेका लामिछानलेलाई अदालतले दिएको म्याद सकिएपछि आज अदालतमा उपस्थित गराइन लागेको हो । लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लीला पछाई तथा रामबहादुर खनाललगायतमाथि यो प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीहरूमाथि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यसअघि जिल्ला अदालत कास्कीले रविमाथि अनुसन्धानका लागि २० कात्तिकमा १५ कात्तिकदेखि गणना हुने गरी १० दिनको समय दिएको थियो । उक्त समय सकिएकाले प्रहरीले पुनः म्याद थपका लागि उनलाई अदालतमा उपस्थित गराउने भएको हो ।

पोखरामा अनुसन्धान सकिएसँगै प्रहरीले लामिछानेलाई बुटवल लैजाने तयारी गरेको छ । बुटवलमा पनि उनीमाथि सहकारीको रकम अपचलन प्रकरणमै अनुसन्धान हुने प्रहरीले जानकारी दिएको छ ।

उता रवि लामिछाने पक्राउ परेसँगै रास्वपाले आन्दोलन गरिरहेको छ । आफ्ना सभापतिलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेर अनुसन्धान गरिएको रास्वपाको दाबी छ । यही विषयलाई लिएर उसले सडक आन्दोलन गर्दै आएको छ ।

सम्बन्धित् समाचार