सागर वि.क., वैखरी अनलाईन ।
१५औं कपिलवस्तु महोत्सवको लागि स्टल बुकिङ्ग खुल्ला भएको छ । कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा हुने यस महोत्सवमा केही अगाडिदेखि नै स्टल बुकिङ्ग खुल्ला भएको स्टल संयोजक मिन थापाले जानकारी दिए ।
औद्योगिक तथा व्यवसायिक वस्तु तथा सेवाहरुको विक्रि तथा प्रवद्र्धनको उद्देश्य राखि स्टल बुकिङ्ग खुल्ला गरेको स्टल संयोजक थापाले बताए । समयमै बुकिङ्ग गरि आफ्नो स्टल सुरक्षित गर्न आग्रह गर्दै उनले भने, ‘स्थानीय स्तरका औद्योगिक तथा व्यवसायिक उत्पादनलाई प्राथमिकता दिईने छ ।’
महोत्सवमा जम्मा ३ सय रहने जानकारी दिदैं उनले भने, ‘व्यापारिक स्टल २५० वटा रहन्छन् । धार्मिक, कृषि, पर्यटन, शैक्षिक, लघुवित्तीय, हस्तकला लगायतका ५० वटा स्टल रहन्छन् ।’
उनले स्थानीय उद्योगलाई ३५ प्रतिशत विशेष छुटमा स्टल उपलब्ध गराईने बताए । त्यसका लागि कपिलवस्तु उद्योग बाणिज्य संघको कार्यालयमा उद्योग दर्ता भएको हुनुपर्ने छ । यस क्षेत्रको समग्र पहिचान झल्किने गरि महोत्सव स्थलमा पुरातात्विक सम्पदा, धार्मिक, पर्यटकीय स्थलको प्रवर्द्धन गर्ने गरि स्टलहरुको काम भईरहेको उनले बताए ।
उनले स्टल बुकिङ्गको काम धमाधम भईरहेको जानकारी दिदैं स्टल बुकिङ्ग लागि कपिलवस्तु उद्योग बाणिज्य संघको कार्यालय चारनम्बरमा सम्पर्क गर्न सकिने बताए । उनले महोत्सव स्थलमा स्टल निर्माणको काम अबको केही दिनमै सुरु गर्ने तयारी रहेको समेत जानकारी दिए ।
महोत्सव आगामी मंसिर १९ देखि पुष २ गतेसम्म बाणगंगा नगरपालिकाको बुद्धरंंगशालामा “सक्षम व्यवसायी , समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नारासहित हुदैंछ ।








