गृहपृष्ठ Featured ९ घण्टामा पनि रविसँग बयान सकिएन, बिहीवार फेरि बयान

९ घण्टामा पनि रविसँग बयान सकिएन, बिहीवार फेरि बयान

प्रकाशित मिति:

बुटवलको सुप्रिम सहकारीको बचत रकम ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिने कार्य आज पनि सकिएन।

जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा दुई दिनदेखि जारी बयान लिने कार्य नसकिएपछि बिहीवार पुन: बयान लिने गरी आजलाई स्थगित गरिएको छ।

रुपन्देही प्रहरीकी प्रवक्ता, प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले आज साँझ ७ बजेसम्म बयानलिँदा समेत नसकिएकाले बिहीवार पनि बयान जारी रहने जानकारी दिइन्।

लामिछानेलाई आज भने कडा सुरक्षाबीच सरकारी वकील कार्यालयमा लगेर बयान लिएको हो। हिजो दिउँसो १ बजेबाट सुरू भएको बयान साँझ ५ बजेसम्म चलेको थियो। आज विहान १० बजेदेखि राति ७ बजेसम्मै ९ घण्टा बयान लिइएको थियो।

लामिछानेलाई रूपन्देही प्रहरी कार्यालयमा राखिएको छ। भैरहवापछि स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन अनुसन्धानका लागि काठमाडौँमा पनि बयान लिने तयारी छ।

पोखराबाट मंगलवार भैरहवा लगिएका लामिछानेलाई विमानस्थलबाट सिधै सरकारी वकिल कार्यालय पुर्‍याइएको थियो। रूपन्देही जिल्ला अदालतले ८ कात्तिकमा लामिछानेसहित १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न अनुमति दिएको थियो।

बुटवलको सुप्रिम सहकारीको रकम गैरकानुनीरूपमा गोर्खा मिडियामा सारिएको विषयमा नेटवर्कका तत्कालीन उपाध्यक्ष छविलाल जोशीसँग दुई दिन बयान लिएर पोखरा पठाइएको थियो।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने कास्की प्रहरीको हिरासतबाट रुपन्देही ल्याएर बयान लिइएको हो।

सम्बन्धित् समाचार