कपिलवस्तु ।
जिल्लाकै ठूलो र ऐतिहासिक रामघाट मेला भर्न श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । कार्तिक शुक्ल पुर्णिमाका दिन कपिलवस्तु नगरपालिकास्थित वाँणगंगा नदीको रामघाटमा लाग्ने नाहन मेला भर्न शुक्रबार बिहानैदेखि हजारौं भक्तजन आएका थिए । धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले पर–परबाट तीर्थालु आएका थिए ।
राति ३ बजेबाटै रामघाटमा स्नान गरी नजिकैको रामजानकी मन्दिरमा पूजाआजा गर्नेको लाइन थियो ।
मन्दिर वरिपरि र नदी किनारमा रातभर साधुसन्त जाग्राम बसेर ढोल, खैजडी, झाँज र हरमुनियम बजाई भजन, किर्तन र चुड्का भन्दै बसेका थिए ।
रामघाटमा स्नान गरी नदी छेउमा गौदान पनि गर्ने गर्दछन् । गौदान गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहेकाले धेरै भक्तजन यहाँ गौदान गर्न आउने गरेको पुरेतहरु बताउँछन् । त्यसैगरी जिल्लाकै लक्ष्मणघाट, सिताघाट, बर्गदीघाट र सन्तघाटमा बिहीबारबाटै मेला लागेको छ ।








